काठमाडौं ।
मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परेको छ । सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । प्राप्त विवरण अनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा ती जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् । अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनर्स्थापनको काम जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
प्राप्त विवरण अनुसार मुख्यगरी म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । विपदबाट मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सबैभन्दा बढी म्याग्दीको पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा बढी पहिरोमा परेर सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन् । तराइका विभिन्न जिल्ला भने डुबान र कटानको समस्याबाट प्रभावित भएका छन् । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो ।
असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा सात जनाले ज्यान गुमाएका छन् । त्यहाँ अझै एकजना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बझाङ र पर्वतको भेलपहिरो अकल्पनीय रहेकाले त्यहाँको पहिरो अध्ययन गर्न प्राविधिक समूह नै पठाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् । उनका अनुसार यसपटकको अपत्यारिलो ठाउँको पहिरोले कहालिलाग्दो क्षति पुर्याएको छ । त्यसपछि बिहीबार र शुक्रबार मुलुकका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जनधनको क्षति भयो ।
म्याग्दीमा २७ को मृत्यु
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले दिएको विवरण अनुसार जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरोमा परेर २७ जनाको मृत्यु भएको छ । अझै चार जना बेपत्ता छन् । बेपत्ता भनिएका तीनजना सम्पर्कमा आएको ढकालले जानकारी दिए ।
“अहिलेसम्म प्रभावित ८९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । राहत सामग्री, त्रिपाल, खाद्यान्न, लत्ताकपडा, कम्बल आवश्यक मात्रामा हेलिकप्टरबाट पुर्याइसकिएको छ, हराइरहेकाको खोजी जारी छ”, प्रजिअ ढकालले भने। उनका अनुसार ५० बोरा चामल, आवश्यक मात्रामा नुन, तेल, मसला, चाउचाउ, पाल, कम्बल ब्ल्याङ्केट सबै पुर्याइसकिएको छ । म्याग्दीमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरी केहीलाई काठमाडौँ र पोखरा पठाइएको र सात जनाको बेनीमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोकमा अझै २० बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित जम्बुबजार र भोटेकोशी गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको र अझै २० जना बेपत्ता भएको प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए। उनका अनुसार प्रारम्भिक विवरणमा ५२ घर बाढी र पहिरोले क्षति पुर्याएको छ । यहाँको प्रभावित क्षेत्रमा ६५ घर परिवारलाई पुग्ने राहत सामग्री तथा लत्ताकपडा जिल्लाबाट पठाइएको र खाद्यान्न भने स्थानीय पालिकाले व्यवस्थापन गरेको उनले जानकारी दिए । अहिले पनि सबै सुरक्षाकर्मीले त्यहाँ उद्धार जारी राखेका छन् । काठमाडौँबाट समेत उद्धार टोली पुगेर जम्बुबजारमा हराइरहेकाको खोजी जारी छ । हराएका भनिएका एक जना भने सम्पर्कमा आएको उनले जानकारी दिए।
कास्कीमा सातको मृत्यु, १३ घाइते
कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडामा शुक्रबार पहिरोले जनधनको क्षति पुर्याएको थियो । कास्कीमा सातको मृत्यु भएको र १३ जना घाइते रहेको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सराङ्कोटमा पाँच, हेम्जामा एक र पैतेडाँडामा एक जनाको मृत्यु भएको थियो ।
जाजरकोट नौ जनाको मृत्यु
जाजरकोटबाट प्राप्त विवरण अनुसार नौ जनाको मृत्यु भएको छ । प्रजिअ जनकराज पन्तले दिएको जानकारी अनुसार त्यहाँको बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको हो । अझै छ जना बेपत्ता नै छन् । उनीहरुको खोजी जारी रहेको र राहत तथा पुनर्स्थापनको काम चलिरहेको छ ।
अन्य जिल्लामा पनि मानवीय क्षति
प्राधिकरणबाट प्राप्त विवरण अनुसार विपदमा परेर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । यस्तै लमजुङमा चारको मृत्यु भएको छ । रुकुम पश्चिम र दार्चुलामा दुई/दुई जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी, सल्यान, कालीकोट, सुर्खेत, झापा र चितवनमा एक/एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । म्याग्दीमा चार, बझाङमा एक, जाजरकोटमा छ, गुल्मीमा एक, सिन्धुपाल्चोकमा २० जना अझै बेपत्ता रहेको सम्बन्धित जिल्लाका प्रजिअले जानकारी दिएका छन्।रासस





























प्रतिक्रिया