काठमाडौं ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिरोले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि आज अपराह्न राजधानी पठाइएको छ ।
घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ । घाइतेलाई एयर डाइनेष्टी र माउण्टेन एयरको हेलिकोप्टरद्वारा राजधानी पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यसैबीच बेपत्ता २० जनाको पहिचान खुलेको छ । तिनमा जम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सवीना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकोशी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इञ्जिनीयर आकाश केसी छन् ।
त्यसैगरी बुलकोटेका नीमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङनुर्बु तामाङ र सहिल तामाङ पनि बेपत्ता भएका छन् । बाढीले बस, ट्याङ्कर, ट्रक र कारसमेत बगाएको छ । दुवै ठाउँमा गरी ३६ घरटहरा बगेका छन् । भोटेकोशीले बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय नजीक अरनिको राजमार्ग र जुरेमा करीब ३०० मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रपतिद्वारा बाह्रबीसे घटनाप्रति दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताएकी छिन् । ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पुर्याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गराएकी छिन् ।
उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
उपराष्ट्रपति नन्दबहादुर पुनले भीषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गए राति आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपतिले आज विज्ञप्तिमार्फत बाढीपहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।रासस





























प्रतिक्रिया