कोरोना भाइरसका कारण विश्वभर पाँच लाख १४ हजारको मृत्यु, ५८ लाख सङ्क्रमण मुक्त

कोरोना भाइरसका कारण विश्वभर पाँच लाख १४ हजारको मृत्यु, ५८ लाख सङ्क्रमण मुक्त


पेरिस ।

कोरोना भाइरसबाट सङ्क्रमित भएर विश्वभरी बुधबारसम्ममा पाँच लाख भन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार संसारभरी मृत्यु भएकाहरुको संख्या पाँच लाख १४ हजार ३ सय २२ रहेको छ । विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख १२ हजार १० पुगेको छ भने कुल सङ्क्रमितको संख्या एक करोड ६ लाख नाघेको छ ।

कुल सङ्क्रमितहरुको संख्यामध्ये सबैभन्दा धेरै अमेरिकामै रहेको पाइएको छ । अमेरिकामा अहिलेसम्म २७ लाख २७ हजार ९ सय ९६ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार १ सय २३ पुगेको छ । कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल भएको छ । शुरुमा प्रभावितको सूचीमा पछाडी नै रहेको ब्राजिल अहिले अग्रस्थानमा छ । ब्राजिलमा अहिलेसम्म १४ लाख आठ हजार ४ सय ८५ जना सङ्क्रमित भएका छन् भने ५९ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै प्रभावित भएको रुसमा छ लाख ५४ हजार ४ सय ५ जना सङ्क्रमित हुँदा नौ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ । सङ्क्रमितहरुको संख्याका आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् ।

कोरोनाका कारण विश्वभरी सङ्क्रमितहरुको संख्यामा कमी नआए पनि मानवीय गतिविधिहरुमा बृद्धि हुन थालेको छ ।–रासस/एपी/एएफपी

Logo