प्रदेश नं २ : सलह कीरा नियन्त्रण गर्न कार्ययोजना तयार

प्रदेश नं २ : सलह कीरा नियन्त्रण गर्न कार्ययोजना तयार

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्य योजना तयार गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयका निर्देशकसहितको टोली स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानसँग अन्तर्क्रिया गरी कार्ययोजना तयार गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र शाहले विज्ञप्ति जारी गर्दै सलह कीरा नियन्त्रण गरी बालीनालीको क्षति रोक्न हरसम्भव मद्दत गर्ने प्रतिबद्धता प्रकट गरे । यस प्रदेशको सर्लाही, बारा र पर्सामा शनिबार भारतबाट सलह कीरा प्रवेश गरेको हो ।

हावाको दिशा अहिले दक्षिणबाट उत्तरतर्फ भएकाले सलह कीराको नेपाल प्रवेश भएको देखिएको छ । शनिबार बिहान ८ बजे प्रवेश गरेको भनिएको यो कीराको उपस्थिति साँझमा समेत देखिएको जानकारी प्राप्त भएको छ । अहिले कीराको सङ्ख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको छ ।

प्रदेश नं २ मा मनसुन शुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको छ । कीरालाई बालीनाली र रुखबिरुवा भएका क्षेत्रबाट धपाएर चरण क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने हुँदा कीरालाई धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कनसमेत किसानलाई मन्त्री शाहले आह्वान गरेका छन् ।रासस

Skip This
Skip This
Logo