सूर्यविनायक–साँगा सडकखण्डका रुख कटान शुरु

सूर्यविनायक–साँगा सडकखण्डका रुख कटान शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक छ लेनमा बिस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख काट्न शुरु गरेको छ ।

आगामी आर्थिक वर्षमा करिब १२ किलोमिटर सडक विस्तारका लागि सरकारले रु एक अर्ब बजेट विनियोजन गरेपछि अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँका रुख काट्न शुरु गरिएको सूर्यविनायक नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए।

डिभिजन सडक कार्यालय र डिभिजन वन कार्यालयको सहकार्यमा सूर्यविनायक भुलाँचादेखि साँगासम्मको करिब चार किलोमिटर सडकको दायाँबायाँका विभिन्न जातका ३८० रुख काट्न शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए।

सडक विस्तारको डिपिआर निर्माण भइरहेको सो सडक विस्तारका लागि सडकको मापदण्डभित्रका संरचना हटाउने, सिमाङ्कन गर्ने कार्य भइरहेका अवस्थामा अरनिको राजमार्ग खण्डको बूढो रुखले दुर्घटना निम्त्याउन सक्ने भएकाले काट्न थालिएको उनको भनाइ छ ।

एकातिर सडक बिस्तार गरिने र अर्कोतर्फ आयु सकिएका बुढा रुख सडक दायाँबायाँ हुँदा हावाहुरीले ढलेर दुर्घटना हुन सक्ने जोखिम पनि उत्तिकै रहेको छ । सडक किनाराका रुख काट्न र व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा करिब रु ३५ लाख विनियोजन भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए । रुख कटानबाट निस्किएको करिब ११ हजार २०० क्युविकफिट काठ र १५ चट्टा दाउरा लिलाम गरिने भएको छ ।रासस

Logo