बैंकहरुमा कोरोना कहर : यसरी गर्दैछन् खर्च कटौती

बैंकहरुमा कोरोना कहर : यसरी गर्दैछन् खर्च कटौती


काठमाडौं ।

विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बैंकिङ क्षेत्रको आम्दानी घट्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुले खर्च कटौती गर्ने तयारी गरेका छन् ।

खर्च कटौतीका विषयमा बैंकर्सले संघमा समेत छलफल गरेका छन् । बैंकका संचालकहरुले खर्च कटौती गर्ने दबाव दिन थालेपछि बैंकर्सले खर्च कटौती गर्न तयारी थालेका हुन् । खर्च कटौती गर्दा स्वेच्छिक अवकास लगायतका विभिन्न शीर्षकका खर्चलाई आधार बनाइएको छ । बैंकहरुले सम्झौता, करार सकिएका तथा संस्था मर्ज हुँदा बढी भएका कर्मचारीहरु तथा बिदा बस्न चाहने अन्य कर्मचारीलाई स्वेच्छिक अवकास दिन लागेका हुन् । स्वेच्छिक अवकास बस्नेलाई केही बढी सुविधा दिएर विदा गराइने बैंकहरुको योजना छ ।

‘स्वेच्छिक अवकास निरन्तर प्रक्रिया हो, मर्ज भएको संस्था वा अन्य कुनै कारणले कर्मचारी बढी भएको छ भने केही सुविधा दिएर पठाउन लागिएको हो ।’ बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने । स्वेच्छिक अवकास लिनेलाई केही बढी सुविधा दिनुपर्ने भएकाले तत्काल भने बैंकको खर्च बढ्ने भए पनि कालान्तरमा फाइदा हुने ढुंगानाको भनाइ छ । यसअघि ग्लोबल आइएमई बैंक र कुमारी बैंकले पनि कर्मचारीको स्वेच्छिक अवकास गराएका थिए । यी बैंकहरुले मर्जरबाट बढी भएका कर्मचारी कटौती गरेका थिए । तर बैंकले स्वेच्छिक अवकास दबादमा नगरेको उनले बताए । ‘जो राजी खुशी छ, उसैलाई मात्र पठाउने हो ।’ ढुंगानाले भने ।

बैंक पब्लिक लिमिटेड कम्पनी भएकाले खर्च कटौती गर्न निकै गाह्रो छ । कर्मचारी कटौती गर्दा श्रम तथा अन्य कानुनहरु आकर्षित हुने भएकाले उद्योग व्यवसायको क्षेत्रमा श्रमिक हटाएको जस्तो बैंकिङ प्रणालीमा सम्भव नहुने उनको भनाइ छ । बैंकले बीमा खर्च, कर्मचारी खर्च, घरभाडा तथा आइटी सम्बन्धी खर्चहरु कटौती गर्न सक्दैनन् । जसमा खर्चको ठुलो हिस्सा रहेको हुन्छ । यी शीर्षकमध्ये घरभाडा र आइटी सम्बन्धी खर्च घटाउने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

अप्रेटिङ खर्चहरु जस्तो प्रिन्टिङ, इन्धन, यातायात र ट्रान्पोटेशन लगायतका खर्च बैंकले घटाउन सक्छ । तर ती शीर्षकका खर्च त्यति ठूलो नहुने भएकाले बैंकलाई खासै राहत नहुने ढुंगानाको भनाइ छ । बैंकको खर्च निरन्तर भइरहने तर आम्दानीका स्रोतहरु बन्द हुने हुँदा बैंकलाई खर्च कटौतीको दबाव परेको हो । बैंकलाई एलसी, कमिशन विदेशी विनिमय आदि कुनै क्षेत्रबाट आम्दानी भएको छैन । त्यसैमाथि उद्योग व्यवसायीले ऋणको किस्ता तथा ब्याज तिर्न सकिरहेका छैनन् । कर्जा असुली ठप्प छ । बैंकमा पैसा थुप्रिएको छ, लगानी भएको छैन । खर्च घटाउनकै लागि पनि निक्षेपको ब्याजदर पनि बैंकले घटाएका छन् । जसका कारण बैंक निकै प्रभावित भएको निवर्तमान अध्यक्ष ढुंगानाले बताए । त्यस्तै, बैंकले विभिन्न वैठकहरुको भत्ता, आफ्ना कर्मचारीहरुलाई उपलब्ध गराउने तलब बाहेकका विभिन्न सुविधाहरु पनि कटौती गर्ने तयारी गरेको छ । बैंकले केही समय नयाँ शाखा पनि विस्तार नगर्ने भएका छन् । जसले बैंकको खर्च बच्ने बताइएको छ ।

Logo