काभ्रेको मण्डनदेउपूरमा ३० वटा घरसहितको एकिकृत वस्ती सिलान्यास

काभ्रेको मण्डनदेउपूरमा ३० वटा घरसहितको एकिकृत वस्ती सिलान्यास

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।
काभ्रेको मण्डनदेउपूर नगरपालिका, १० चण्डेनीमण्डनस्थित तीनधारामा एकिकृत वस्ती निर्माणका लागि शुक्रबार सिलान्यास गरिएको छ । नगरपालिकाका मेयर टोकबहादुर वाइवा र वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपाल लगायतबाट शुक्रबार सो एकिकृत वस्तीको सिलान्यास गरिएको हो ।

३० वटा घर र एक सामुदायीक भवन निर्माण हुने सो वस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसका साथै ३० परिवारले पहिलो किस्ताबापतको ५० हजार लिएका छन् भने बाँकी २ लाख ५० हजार लिन बाँकी छ । यति गर्दा पनि वस्ती निर्माणका लागि आर्थिक अभाव हुन सक्ने बताइएको छ । यसका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताइए पनि कति सहयोग गर्ने भन्ने निर्णय भने भएको छैन ।

गतवर्ष नै यसका लागि बजेट विनियोजन गरिएको भए पनि जग्गा व्यवस्थापन लगायत अन्य कारणले समय लागेपछि निर्माण ढिलो गरि सुरु गर्नु परेको वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी दिए । उनका अनुसार ५० लाखले मात्र वस्ती निर्माण सम्पन्न हुन सक्ने अवस्था छैन । यसका लागि अन्य संस्था र सरकारी सहयोग भएन भने वस्ती निर्माणका लागि आर्थिक अभाव हुने अवस्था छ ।

आगामी एक वर्ष सम्ममा वस्ती निर्माण सम्पन्न गरिसक्नु पर्ने बताइएको छ । ०७२ को विनासकारी भूकम्पले सबैभन्दा धेरै प्रभावित बनेको चण्डेनीमण्डनमा निर्माण हुन लागेको एकिकृत बस्ती नगरपालिकाकै नमुना हुने बताइएको छ । स्थानियवासी भने बस्ती निर्माण हुने भए पछि उत्साहित बनेका छन् ।

वडाध्यक्ष नेपालले बस्तीको गुणस्तरीय निर्माण र पारदर्शिताका लागि समुदायसँग तथा प्राविधिक र आर्थिक सहयोगका लागि नगरपालिका, प्रदेश, संघिय सरकार, सामाजिक ब्यक्तिहरु तथा सामाजिक संघ संस्थासँग अनुरोध गरेका छन् ।

Logo