राष्ट्रिय सभाबाट दुई तिहाइभन्दा बढी मतले संविधान संंशोधन विधेयक पारित, अब प्रतिनिधि सभामा पठाइने

राष्ट्रिय सभाबाट दुई तिहाइभन्दा बढी मतले संविधान संंशोधन विधेयक पारित, अब प्रतिनिधि सभामा पठाइने


काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट दुई तिहाइभन्दा बढी मतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रिय सभाको बैठकले दुई तिहाइभन्दा बढी मतका साथ नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गरेको हो । बिहिबार राष्ट्रिय सभामा गरिएको छलफल पछि भएको मतदानमा जम्मा उपस्थित ५७ जना सांसदले संशोधनको पक्षमा मतदान गरेका छन् । भने संशोधनका विपक्षमा कुनै मत परेको छैन । राष्ट्रिय सभामा कूल ५९ जना सदस्य रहेका छन् । कूल सदस्यमध्ये एक जना अध्यक्षले मतदान गर्न पाउँदैनन् भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुपर्ने एक सदस्यको पद खाली रहेको छ । उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा (हुन्छ भन्ने पक्षमा) हस्ताक्षर गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सरकारले ल्याएको संविधान संशोधन विधेयक दुई तिहाइभन्दा बढी मतले पारित भएको घोषणा गरे ।

यसअघि गत शनिबार प्रतिनिधि सभाले उक्त संशोधन विधेयकलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको थियो । प्रतिनिधि सभामा संशोधनका पक्षमा २ सय ५८ मत परेको थियो भने विधेयकको विपक्षमा कुनै मत परेको थिएन् । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले राष्ट्रिय सभामा प्रस्तुत गरेकी थिइन् । अब राष्ट्रिय सभाबाट विधेयक पारित भएको सूचना प्रतिनिधि सभालाई पठाइने छ । प्रतिनिधि सभामा पारित भएको सन्देश सुनाएर सभामुखले प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्नेछ । राष्ट्रपतिले प्रमाणिकरण गरी नेपाल राजपत्रमा प्रकाशित गरेपछि नयाँ नक्सा संवैधानिक अंग बन्ने छ ।

गत जेठ ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सा पारित गर्ने प्रस्ताव पारित गरेको थियो । मन्त्रिपरिषद्को प्रस्ताव अनुसार जेठ ७ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् । नयाँ नक्सामा भारतीय पक्षबाट लामो समयदेखि कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको ३ सय ३५ वर्ग किलोमिटर भूभाग समावेश गरिएको थियो । नयाँ नक्सा जारी भएपछि सरकारले संविधान संशोधन गर्ने निर्णय गरेको थियो । नेपालको संविधान २०७२ को अनुसूची ३ मा निसान छाप रहेको छ । सोही निसान छापमा रहेको पुरानो नक्सा परिमार्जन गर्न संविधान संशोधन गर्न लागिएको हो ।

सरकारको निर्णय अनुसार गत जेठ ९ मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएकी थिइन् । जेठ १८ को प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक प्रस्तुत गरिएको थियो । साथै जेठ २८ को प्रतिनिधि सभाको बैठकमा सैद्धान्तिक छलफल गरिएको थियो । जेठ ३१ मा प्रतिनिधि सभामा गरिएको संविधान संशोधन विधेयक माथिको मतदानमा दुई तिहाइ भन्दा बढी मतले विधेयक पारित भएको थियो ।

Logo