आजदेखि सरकारी कार्यालयहरु खुल्ने, दुई सिफ्टमा कार्यालय सञ्चालन हुँदै

आजदेखि सरकारी कार्यालयहरु खुल्ने, दुई सिफ्टमा कार्यालय सञ्चालन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आजदेखि सबै सरकारी कार्यालयहरु खुल्ने भएका छन् । गत चैत्र ११ गतेदेखि लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि पुनः सञ्चालनमा आउँन लागेका हुन ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्न पाउने निर्णय गरेसँगै कार्यालयहरु खुल्न लागेका हुन् ।

अब सरकारी कार्यालयहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछन् । बिहान ६ बजेदेखि १ बजेसम्म एउटा सिफ्ट र १ बजेदेखि बेलुका ६ बजेसम्म दोस्रो सिफ्ट गरी कार्यालयहरू सञ्चालन गर्नु पर्नेछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयलाई यसको जानकारी गराइसकेको छ । यसका लागि सबै कर्मचारीहरुले भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्नु पर्नेछ ।

यसैबीच सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत आजबाट सञ्चालन हुन पाउने भएका छन् । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नु पर्नेछ ।

यात्रुले अनिवार्य रुपमा मास्क र स्यानेटाइजरको व्यवस्था गर्नु पर्ने तथा सवारीलाई दैनिक निसङ्क्रमित गर्नु पर्नेछ । उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नु पर्नेछ ।

बन्दाबन्दीलाई खुकुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबार लगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्युटीपार्लर, स्वीमिङपुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुबाहक सवारीसाधन भने सञ्चालन हुने छैनन् ।

Logo