बीमा कम्पनीहरुले थेग्नै नसक्ने भएपछि कोरोना बीमा बन्द

बीमा कम्पनीहरुले थेग्नै नसक्ने भएपछि कोरोना बीमा बन्द


काठमाडौं ।
कोरोना भाइरस फैलिएसँगै तिब्र रुपमा बढेको कोरोना बीमा भोलिदेखि बन्द हुने भएको छ ।

पछिल्लो समय कोरोना बीमा गर्नेको संख्या अत्याधिक भएको र बीमा कम्पनीहरुमा दावी गर्नेको संख्या पनि उत्तिकै बढ्ने भएकाले बीमा कम्पनीहरुले थेग्नै नसक्ने भएपछि कोरोना बीमा बन्द हुन लागेको हो । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि प्राथमिकताका साथ कोरोना बीमालाई समेटेको छ । कोरोना भाइरस फैलिँदै गर्दा बीमा समितिले सबै नीर्जिवन बीमा कम्पनीहरुका नाममा निर्देशन जारी गर्दै कोरोना बीमा गर्न निर्देशन दिएको थियो ।

तर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कम्पनीहरुले थेग्न नसक्ने भन्दै बन्द हुन लागेको बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए । ‘पब्लिकले यो पोलिसी मन पराएका थिए, तर धान्न सकिने अवस्था छैन ।’ महासचिव क्षेत्रीले भने । संक्रमितको संख्या बढी भएसँगै दाबी भुक्तानी नै बढी गर्नुपर्ने भएपछि बीमा कम्पनीहरुको नाफामा समेत असर गर्ने देखिएपछि कोरोना बीमा बन्द हुन लागेको हो । संघले यो बीमा पोलिसी बन्द गर्ने भन्दै बीमा समितिमा प्रस्ताव बुझाइसकेको छ । ‘हामीले बीमा समितिलाई समेत जानकारी गराएका छौँ ।’ क्षेत्रीले भने । क्षेत्रीका अनुसार बीमा समितिले कोरोना बीमा बन्द गर्न सहमति दिएको छ । कोरोना बीमा सम्बन्धी पोलिसी नयाँ भएपनि दुई महिना बित्न नपाउँदै तीन लाखभन्दा बढीले बीमा गराइसकेका थिए । यस्तो बीमाबाट १६ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको छ । क्षेत्रीका अनुसार हालसम्म बीमा दाबी भने परेको छैन ।

बजेटमा प्रिमियम शुल्कमा छुट दिएका कारण पनि बीमा कम्पनीहरू असन्तुष्ट भएका छन् । बजेटमा छुट दिने उल्लेख गरेपनि बीमा कम्पनीलाई सहुलियत नभएकाले पनि बीमा कम्पनीहरु मारमा परेको संघले जनााएको छ । समितिले ५ सय रुपैयाँमा ५० हजार रुपैयाँको र १ हजार रुपैयाँमा १ लाख रुपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था गरेको थियोे । परिवारका लागि यस्तो बीमा गर्दा १ लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँमा गर्न सकिन्छ । बीमा गरेको १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजेटिभ देखिएको एक लाखको बीमा गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बीमा कम्पनीहरुले भुक्तानी दिन्छन् । हाल बन्द भएको यो बीमा पोलिसी कार्यविधी बनेपछि पुनः सुरु गर्ने महासचिव क्षेत्रीले केन्द्रबिन्दुलाई बताए ।

Logo