काठमाडौं ।
नागढुङ्गा हुँदै काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनका बिषयमा जानकारी लिन काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज काठमाडौं र धादिङ जिल्लाको सीमाना खत्रीपौवा पुगेकी छिन् ।
काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु आउन थालेको खबर आएपछि यस बिषयमा जानकारी लिन उनी नागढुङ्गा हुँदै खत्रीपौवा पुगेकी हुन् । त्यस क्रममा उनले नागढुङ्गा र खत्रीपौवा दुवै ठाउँमा बसेर सवारी साधन भित्रिने गति, भित्र आउने सवारीको प्रयोजन, सवारी र सवारीमा आउने व्यक्तिको अभिलेख राख्ने तरिका अवलोकन गरेकी थिइन् । त्यस्तै सवारी चालकसँग भित्र आउनु पर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिएकी थिइन् भने मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क वितरण गरेकी थिइन् ।

यस्तै कार्यक्षेत्रमा रहेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसँग कुराकानी गरेकी थिइन् । अवलोकनपछि प्रतिक्रिया दिँदै उपप्रमुख खड्गी श्रेष्ठले भनिन् -रातारात मान्छे काठमाडौं भित्रिए भनेर जुन तहमा खबर बाहिर आएको छ । त्यस्तो डरलाग्दो अवस्था देखिएन । उपत्यकामा आवश्यक पर्ने खाद्यबस्तु, तरकारी ढुवानी गर्ने ट्रकहरु, पेट्रोलियम बस्तु ढुवानी गर्ने साधनहरु, निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स भित्रिँदै गरेका भेटिए ।
हामी हरेक नागरिकको सुरक्षा अवस्थाप्रति गम्भीर छौं । उनले भनिन् – ‘नागरिकको आवतजावत गर्ने अधिकारप्रति संवेदनशील छौं । तर, अहिले आवतजावत गर्ने समय होइन । महामारी नियन्त्रण गर्न जो जहाँ हुनुहुन्छ, त्यहाँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गर्दछु ।’
नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने सवारी साधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्र आउन दिने गरेको छ । यो व्यवस्था राम्रो हो, उपप्रमुख खड्गी श्रेष्ठले भनिन् -‘केही समयका लागि यसलाई कडाइ गर्नोस् । महामारी नियन्त्रणमा आएपछि, जनजीवन सहज हुने भएपछि विस्तारै खुकुलो बनाउनु पर्छ ।’
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ धादिङ र काठमाडौको सिमाना खत्रीपौवामा थिए । त्यहाँ आएका सवारी साधनको विवरण टिपेर भित्रिन दिने, नदिने निर्णय गर्न उनलाई भ्याइनभ्याइ थियो । यसै क्रममा महानगरकी उपप्रमुख खड्गी श्रेष्ठ पुगेपछि उनले अवस्थाका बिषयमा जानकारी दिँदै भने, -‘अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई हामीले प्रवेश दिने गरेका छौं । प्रवेश नगर्दा पनि हुनेलाई यहाँबाट नै फर्काउने गरेका छौं ।’ उनले भने -‘सोमबार हामीले ३७ वटा सवारीलाई यहीँबाट फकायौं भने मंगलबार १०३ वटा फर्कायौं ।’
हामीले काठमाडौंको जनजीवनलाई सहज बनाउन जे सामग्री आवश्यक पर्छ, ती सवारी साधन पठाउनै पर्छ । अहिले नभएपछि हुने सामग्री बोक्ने र अहिले काठमाडौं नगएपनि हुनेलाई फर्काउने गरेका हौं । उनका अनुसार अहिले बिदेशी नम्बर प्लेट भएका कुनै पनि सवारी साधनहरु आउने गरेका छैनन् । काठमाडौंमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्लाहरु धादिङ, चितवन लगायत ठाउँबाट आउने गरेका हुन् । वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औसतमा ५०० वटा सवारी साधन भित्रिने गरेका छन् ।





























प्रतिक्रिया