काभ्रेका सबै स्थानिय तहका क्वारेन्टाइनहरु खाली हुँदै

काभ्रेका सबै स्थानिय तहका क्वारेन्टाइनहरु खाली हुँदै

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका सम्पूर्ण क्वारेन्टाइन अहिले खाली भएका छन् । काभ्रेका १३ स्थानीय तहमा व्यवस्थित गरिएका क्वारेन्टाइन हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।

यसअघि धुलिखेल नगरपालिकामा गत हप्ता १० तथा मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टाइनमा विदेशबाट फर्किएका आठ जनालाई राखिएकामा सात जनालाई १४ दिन तथा एक जनालाई २२ दिनको बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको थियो ।

जिल्लाका स्थानीय तहमा व्यवस्थित गरिएका सबै क्वारेन्टाइन हाल खाली अवस्थामा रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार विदेशबाट हालसम्म काभ्रेमा घर फर्किएका मण्डनदेउपुर नपाका आठ जनाबाहेक सबैलाई एकान्तवास (होम क्वारेन्टाइन) मा राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तवासमै बसाइएको हो ।

स्थानीय तहले हालसम्म २८८ शैयाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ शैया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ शैयाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच शैयाको आइसोलेसनकक्ष व्यवस्थित गरिएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

कार्यालयका अनुसार माघ महिना यता ४५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको पाइएको हो । घर फर्किएकाको स्थानीय तहको समन्वयमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १८९ को आरडिटी भएको छ ।

यसैबीच स्थानीय तहमा मङ्गलबारको परीक्षणका क्रममा दुई युवामा कोरोना भाइरसको शङ्का देखिएकाले धुलिखेल अस्पतालस्थित आइसोलेसन कक्षमा राखिएको झाले बताए । उनले भने, “आज थप परीक्षण हुनेछ, त्यसपछिको रिपोर्टले उनीहरूको अवस्था थाहा हुनेछ ।” उनले शङ्का लाग्दैमा ‘कोरोना पोजेटिभ’ भनेर प्रचार गर्न नहुने बताए ।

कोरोना भाइरसको शङ्कामा आइसोलेसनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुबईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको छ भने भारतपछि दुबईबाट फर्कनेको सङ्ख्या अधिक रहेको देखिन्छ ।रासस

Skip This
Skip This
Logo