भोका पशुपंक्षीलाई खानेकुरा बाँड्न मेयर शाक्यसहितको टोली खटियो

भोका पशुपंक्षीलाई खानेकुरा बाँड्न मेयर शाक्यसहितको टोली खटियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले लकडाउन जारी गरेसँगै भोका रहेका कुकुर, छाडा चौपाय, बाँदर र चराचुरुङ्गीलाई काठमाडौँ महानगरपालिकाले आहाराको व्यवस्था गर्न थालेको छ ।

यसै अनुरुप महानगरका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले आज राजधानीका स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा पुगी पशुपंक्षीलाई खानेकुराको व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, उपप्रमुख हरिप्रभा खड्गी, सहसचिव राजेश्वर ज्ञवाली, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल, प्रशासन विभाग प्रमुख नमराज ढकाल, महानगर प्रहरी प्रमुख धनपति सापकोटा लगायतको टोलीसहित शाक्य स्वयम्भू, बौद्ध र पशुपतिनाथ पुगेका हुन् ।

प्रमुख शाक्यको टोली यी ठाउँमा पुग्दा सम्बन्धित वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि पनि सहभागी भएका थिए । पशुपति क्षेत्रमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकाल पनि सहभागी भएका थिए। छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्न टोलीसहित ती क्षेत्रहरुमा पूगेका प्रमुख शाक्यले जनावरहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ भनेर महानगर कार्यपालिका बैठकले उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको र सोही अनुरुप काम अघि बढेको जानकारी दिए ।

महानगरले चराचुरुङ्गी, छाडा चौपाय, कुकुर, बाँदर लगायत भोकले नमरुन् भनेर वडा–वडालाई नै उनीहरुको आहाराका लागि बजेट पठाएको शाक्यको भनाइ छ। उनले सबै वडाले त्यहि बजेट मार्फत आहाराको व्यवस्था गरिरहेको पनि बताए । आज टोली मुख्य गरि बाँदर, कुकुर र छाडा चौपायको बढी भीडभाड हुने क्षेत्रहरु स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रमा अनुगमनका लागि पुगेको छ ।

महानगरले अहिले असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने मात्र होइन महानगर क्षेत्र भित्र घर भएर पनि किनेर खानु पर्ने समस्या भएकालाई पनि राहतको व्यवस्था गरिरहेको छ । महानगरले अनुगमनलाई निरन्तरता दिदै भोलि बसन्तपुर, कालमोचन लगायतका क्षेत्रमा अनुगमन गर्ने भएको छ।

‘लकडाउनका कारण मानिसको आवागमन नहुँदा र होटल, रेष्टुराँहरु सञ्चालन हुँदा भोका रहेका कुकुर, बाँदर र छाडा चौपायलाई आहाराको व्यवस्था गर्न वडाहरुलाई थप रकमको व्यवस्था गर्न आफू तयार रहेको पनि महानगर प्रमुख शाक्यले जानकारी दिए ।

‘हामीले सबै वडालाई राहत वितरण पारदर्शी ढंगले गर्न र सबैको तथ्याङ्क राख्न पनि निर्देशन दिएका छौँ,’ प्रमुख शाक्यले भने ,यो विपतको बेला हो, सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुको अर्को विकल्प नभएको उनको भनाई थियो । उनले शुक्रबारसम्म ३२ वटै वडाबाट करीव ३५ हजार ८ सय मानिसलाई राहत वितरण गरेको जानकारी दिदैँ ४२ हजारको विवरण संकलन गरेको बताए ।

Skip This
Skip This
Logo