पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको उपचारलाई लक्षित गरी आइतबारदेखि उपचारमा प्रयोग गरिने पर्सनल पोटेक्सन इक्वुपमेन्ट (पीपीई) वितरण थालेको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) उपचारमा संलग्न स्वास्थ्य कर्मचारीलाई सुरक्षित राख्न ती सामाग्री वितरण गरिएको हो ।
गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमणको उपचारमा सुरक्षित भई उपचार सेवा गर्न सहयोग पु¥याउने उद्देश्यका साथ १७ वटा पीपीई वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए । कोरोना सङ्क्रमणको उपचारका लागि पोखराबाट दुई र काठमाडौंबाट १५ वटा पीपीई ल्याइएको जानकारी दिँदै उनले नाउँडाडास्थित स्वास्थ्य चौकी र आयुर्वेदिक अस्पताल लुम्लेलाई एक/एक वटा पीपीई वितरण गरिएको बताए । आज सबै पीपीई वितरण गरिसक्ने बताउँदै अध्यक्ष कुँवरले कोरोना सङ्क्रमणको उपचारका लागि गाउँपालिकामा उपलब्ध साधनस्रोतलाई अधिकतम परिचालन गरिने जानकारी दिए ।
उनका अनुसार गाउँपालिकामा हालै विदेशबाट आएका २६ जनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ । लकडाउनको गाउँपालिकामा राम्रै पालना भइरहेको उनको भनाइ छ । गाउँपालिकाको वडा नं १ स्थित हिमालय देउराली होटेल, २ स्थित माछापुच्छ्रे मावि, ३ स्थित लुम्ले कृषि केन्द्र, ४ स्थित प्रगतिशील मावि, ६ स्थित संगम मावि, ८ स्थित बीरेठाँटी मावि र १० स्थित मेश्रम बराह माविमा क्वारेन्टाइन स्थापना गरिएको उनले जानकारी दिए ।–रासस





























प्रतिक्रिया