काठमाडौं ।
काठमाडौंको सुन्धारामा रहेको ‘सेन्ट्रल जेल’का एक दर्जन भन्दा बढी कैदीबन्दीलाई ज्वरो आएको छ । जेल स्रोतका अनुसार ज्वरो आउनेहरु हरेक दिन दुई–तीन जना थपिईरहेका छन् । तर, उनीहरुको चेक जाँच हुन नसक्दा के कारणले ज्वरो आएको हो भन्ने यकिन हुन सकेको छैन । यसकै कारण कैदी–बन्दीहरुमा कोरोनाको त्रास पनि बढेको छ ।
ज्वरो आउनुको कारण के हो ? जेल प्रशासनका अनुसार चेक जाँच नभएकाले भन्न सकिने अवस्था छैन । नियमित चेक गर्न आउने डाक्टरहरु समेत त्रसित भएर फर्किने गरेको जेल स्रोतको दाबी छ । सरकारको तर्फबाट कुनै पहल नभएको पनि कैदी–बन्दीको आरोप छ ।
सेन्ट्रल जेलमा मात्र अहिले १८ सय ७० जना कैदीबन्दी रहेका छन् । सीमित ठाऊँमा यतिधेरै कैदी बस्दा कोरोनाको महामारी छिर्ने खतरा उत्तिकै बढेको हुनाले उनीहरु त्रसित बनेका हुन् । सरकारले २५ जनाभन्दा बढी एकै ठाऊँ नबस्न मापदण्ड बनाएपनि जेलको हकमा भने यो लागु हुन सकेको छैन । चारसय जति महिला र सँगै जोडिएको भद्रगोल जेलमा ९ सयको हाराहारिमा कैदी–बन्दी एकै ठाऊँ बस्दै आएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने आशंकामा यतिवेला देश नै लकडाउन गरिएको छ । सडकमा समेत कसैले हिड्डुल गर्न पाउँदैन । कोरोना संक्रमणवाट जोगिन एक मिटर टाढा बस्नु पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । तर, जेल भित्रका कैदीबन्दीहरु भने खचाखच भएर बस्न बाध्य छन् ।
यही सत्यलाई मध्यनजर गर्दै सरकारले जघन्य अपराधमा सजाय भोग्दै गरेका बाहेकका कैदीबन्दीहरुलाई घर जाने ब्यवस्था मिलाउने निर्णय गरेको थियो । तर, सेन्ट्रल जेलबाट हालसम्म १३ जनाले मात्र छुट्टि पाएको स्रोतको दाबी छ । कैदी–बन्दीहरुको यस्तो दुरावस्थाका बारेमा अधिकारकर्मी वा मानव अधिकार आयोग कसैको पनि ध्यानाकर्षण भएको छैन ।































प्रतिक्रिया