गोरखामा जिप दुर्घटना ११ जना घाइते, चारको अवस्था गम्भीर

गोरखामा जिप दुर्घटना ११ जना घाइते, चारको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

गोरखा ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा १५ च १०१६ नं. को जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिप सडकबाट झण्डै ५० मिटर तल खसेको गुरुङले बताए । “घाइतेमध्ये दुई जनाको दाँतसमेत झरेको छ, घटनालगत्तै प्रहरीसमेत घटनास्थलमा आइपुगिसकेको छ”, उनले भने । दुर्घटनामा बारपाक सुलिकोट गाउँपालिका–४ की १९ वर्षीया विमला गुरुङ, सोही ठाउँकी ६० वर्षीय बुद्धबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङ घाइते छन् ।

अन्य घाइतेमा सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले जानकारी दिए। घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर रहेको उनले बताए । घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ । घाइतेको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।रासस

Logo