काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सम्पन्न भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण सफल भएको हो । अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताए । ‘सबै मुख्य सुचकांकहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । प्रत्यारोपण उपचार कक्षमा राखि उपचारलाई निरन्तरता दिइएको छ’, उनले भने ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यरोपण शल्यचिकित्सा टोलीमा प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो । त्यसैगरी मिर्गाैला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिब्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागिता थियो ।
कार्यकारी निर्देशक डा. खड्काका अनुसार एनेस्थिेसिया तथा क्रिटिकल केयर तर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको छ । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । संग्रौलाले एउटा मिर्गौला प्रधानमन्त्री ओलीलाई दान गरेकी हुन् । प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा उनको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।





























प्रतिक्रिया