प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज, देश-विदेशबाट स्वास्थ्यलाभको कामना (भिडियोसहित)

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज, देश-विदेशबाट स्वास्थ्यलाभको कामना (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ । उनका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उनी विशेषज्ञको निरन्तर निगरानीमा छन्। दोस्रो मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीको टोलीले बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ । यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्न सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ ।

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । मंगलबार साँझ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

भूटानका समकक्षीबाट सफल मिर्गौला प्रत्यारोपणको कामना

भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भई चाँडै स्वास्थ्य लाभ हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले एक सन्देश पठाई प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

यसैगरी नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलता र स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रमको स्वास्थ्यको कामनासहित हलेसीमा दीप प्रज्ज्वलन

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै खोटाङको हलेसीमा दीप प्रज्ज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगर समितिले मंगलबार साँझ हलेसी मन्दिर अगाडि ‘प्रम केपी ओलीको शिघ्र स्वास्थ्य लाभको कामना’ लेखेर दीप प्रज्ज्वलन गरेको हो ।

दीप प्रज्ज्वलनसँगै राष्ट्रिय गान बजाएर सबैले उपचाररत् प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरिएको नगर समितिका सचिवालय सदस्य सर्वधन बस्नेतले बताए । दीप प्रज्ज्वलन कार्यक्रममा सत्तारुढ दल नेकपाका जिल्ला एवं नगर समितिका नेता तथा कार्यकर्ता र स्थानीयवासीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीको आज काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ ।

स्वास्थ्य लाभको कामना गर्दै देशभर पूजाअर्चना

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालको न्युरोलोजी तथा ट्रान्सप्लान्ट विभागमा भर्ना भएसँगै ओलीको सुस्वास्थ्यको कामना गर्दै काठमाडौंको श्रीपशुपतिनाथ मन्दिरमा मंगलबार बिहान विशेष पूजा गरिएको छ । मंगलबार बिहान ९ः३० बजे ओलीको सुस्वास्थ्य, आरोग्य र दीघार्युको कामना गर्दै विशेष पूजा गरिएको हो ।

विशेष पूजाका लागि ओलीका आफन्त मंगलबार बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । सोमबार ओलीका परिवारका सदस्यले पशुपतिनाथ मन्दिरमा पूजा गराउने इच्छा व्यक्त गरेका थिए । मंगलबार बिहानको पहिलो विशेषपूजा नै प्रधानमन्त्रीका लागि गरिएको थियो । विशेष पूजाका लागि करिब १० मिनेट समय लागेको थियो । पूजामा ओलीका आफन्त मन्दिरभित्र उपस्थित थिए । ओलीको सुस्वास्थ्यका लागि पशुपतिनाथमा पूजा तथा प्रार्थना केही दिनसम्म जारी रहने बताइएको छ । ।

यसैबीच, सप्तरीको चर्चित छिन्नमस्ता मन्दिरमा पनि मंगलबारदेखि प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै विशेष हवन तथा पूजा सुरु गरिएको छ । ओलीको आरोग्यताका लागि महामृत्युञ्जय, महारुद्री, लघुरुद्रीलगायत विशेष पूजा गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली सोमवार आफ्ना पिता मोहनप्रुाद ओलीसँग आर्शिवाद लिएर अस्पताल भर्ना हुन पुगेका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ती निकालेर प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गरेका छन् भने काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । अन्य दलका नेताहरुले पनि प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन् । सामाजिक सञ्जालहरुमा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना भइरहेका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी रगतमा हुने टक्सिनहरु निकाल्न ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको छ । प्रधानमन्त्री ओलीलाई नाताले भान्जी पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गाैला दिन लागेकी हुन् । १२ वर्षअघि पहिलो पटक मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् । भिडियोमा :

 

Logo