‘नेपालमा कोरोना नआओस् भनेर कामना गर्छु’ : गौरव पोखरेल (चीनबाट फर्किएका विद्यार्थी)

‘नेपालमा कोरोना नआओस् भनेर कामना गर्छु’ : गौरव पोखरेल (चीनबाट फर्किएका विद्यार्थी)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरी ल्याइएका १ सय ७५ जना नेपालीहरु सोमबार घर फर्किएका छन् । फागुन ४ गते चीनको वुहानबाट उद्दार गरी उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई कोरोना भाइरसको संक्रमण नदेखिएपछि १७ औं दिनमा घर फर्काइएको हो । वुहानबाट ल्याइएका अधिकांश विद्यार्थी डाक्टर पढिरहेका छन् । यहि विद्यार्थीहरुमध्ये एक हुन् गौरव पोखरेल उनले क्वारेन्टाइनमा पनि समन्वय गरेर काम गरेका थिए । गौरव वुहानको थुङ्चीमेरी कलेजमा पि.एच.डी अध्ययनरत विद्यार्थी हुन् । गौरवसँग केन्द्रबिन्दुकी संवाददाता सृजना राईले ५ प्रश्न गरेकी छिन् ।

१.क्वारेन्टाइनको बसाई कस्तो रह्यो ?
यो १४ दिनको बसाई धेरै रमाइलो भयो । ठूलो परिवारको साथमा बसे जस्तो, सबैको साथ, सहयोग, समर्थन यहाँको व्यवस्थापन नेपाल आर्मीले एकदमै राम्रो गरेकोे थियो । हामीलाई एकदम सुरक्षित महशुस भएको थियो । हामी एकदमै खुशी छौं साथै यहाँहरु सबैलाई आभार व्यक्त गर्न चाहन्छौं ।

२.क्वारेन्टाइनको १४ दिनसम्म भित्र रहेका १७४ जनासँग समन्वय गरेर काम गर्दा कस्तो महशुस भयो?
आफू डाक्टर पढिरहेको विद्यार्थी भएको नाताले मैले जानेको कुरा गरेको मात्र हो । हामी वुहानमा हुँदा धेरै तनाबमा थियौं गाह्रो अवस्था थियो तर नेपाल आउने बित्तिकै तनाब स्वात्तै घट्यो । यहाँको सुरक्षा, खानपिन, मेडिकलको व्यवस्था एकदमै राम्रो गर्नुभएको थियो । कडाईका साथ डब्लु.एच.ओको नियम पालना गर्नुभएको थियो । जसले गर्दा हामी झनै ढुक्क भयौं । यहाँ आएपछि पनि कसैमा त्यस्तो खालको लक्षण देखिएन । मैले समन्वय गरिरहँदा सबैको आँट, हौसला मनोबल देखेर आफूमा थप उर्जा मिल्यो ।

३. नेपाल आएपछि जब परिक्षणका लागी नमूना पठाइयो, तब नतिजा नआउँदासम्म मनमा के लागिरहेको थियो ?
साँच्चिकै त्यो क्षण तनाबग्रस्त नै थियो । हामी सबैले ‘नेगेटिभ’ आइदियोस् भन्दै प्रार्थना गरिरहेका थियांै । हामी वुहानमा हुँदा पनि आफूलाई २२ दिनदेखी नै क्वारेन्टाइनमा राखेका थियांै । त्यसैले मनमा ‘नेगेटिभ’ नै आउँछ भन्ने चाहीं थियो तर डर भन्ने त भइहाल्छ नि । भाग्यवस हाम्रो दुई पटककै नतिजा ‘नेगेटिभ’ आएको छ र अब हामी कोरोनामुक्त छौं भन्न चाहन्छु ।

४. कोरोना भाइरसबारे नेपालीहरुलाई के भन्न चाहनु हुन्छ ?
कोरोना भाइरसबाट कृपया नडराउनुहोस् तर जानकारी हुनुपर्छ । रुघाखोकी, ज्वरो, बान्ता, पखाला र श्वास फेर्न गाह्रो जस्ता लक्षणहरु देखिएमा अस्पतालमा जानुपर्छ । शंकास्पद ठाउँबाट आउनु भएको छ भने खबर दिनुहोस् । भिडभाडमा नजानुहोस्, मास्क लगाएर हिड्नुहोस् । हात राम्ररी धुनुहोस् बच्चा र बृद्धाहरुलाई अझ बढी हेरचाह गर्नुहोस् । अरु ठूलो कुरा केही पनि छैन ।

५.अब यहाँबाट गएपछि के गर्नुहुन्छ?
मेरो घर जनकपुर जलेश्वर हो । अबको एक हप्तामा घर जान्छु परिवारसँग खुशीयाली मनाउँछु, ५ वर्ष भयो चीनमा बसेको आफन्त, साथीभाईसँग नभेटेको धेरै भयो उनीहरुसँग भेटघाट गरेर रमाइलो गर्छु । पशुपतिनाथको दर्शन पनि गर्छु । घर गएर परिवारलाई भेट्न एकदमै उत्साहित छु । नेपालमा कोरोना नआओस् भनेर कामना गर्छु ।

Logo