प्रदेश नं. २ : निर्वाचनमार्फत राजधानी र नामको टुंगो लगाउने तयारी

प्रदेश नं. २ : निर्वाचनमार्फत राजधानी र नामको टुंगो लगाउने तयारी

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।
प्रदेश नं. २ को नामाकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचन मार्फत राजधानी र नामको टुंगो लगाउने तयारी भएको छ । प्रदेश सभा सचिवालयले मतदान मार्फत प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुंगो लाग्ने भएको जनाएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार नाम र राजधानीको टुंगो लगाउन फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामाकरण र स्थायी राजधानी बारे टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको हो ।

सभामुख सरोजकुमार यादवले करिब ३ महिनादेखि अवरुद्ध प्रदेशसभा बैठक २२ फागुनमा बोलाइएको बताए । सो बैठकमा प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने यादवले बताए । उनले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए ।

सभामुख यादवले प्रदेशको नामाकरणका लागि चार र राजधानीका लागि ३ वटा प्रस्ताव दर्ता भएको भन्दै सबै प्रस्तावहरुमा छलफल गरेर दुई तिहाइ मतबाट पारित गर्ने बताए । प्रदेश नम्बर २ को स्थायी राजधानीबारे सबै दल एकमत भएपनि प्रदेशको नाममा सहमति हुन सकेको छैन । प्रदेशको स्थायी राजधानी र नामाकरण सर्वसम्मतरुपमा राख्नका लागि संसदीय दलहरुबीच विवाद देखिएपछि सभामुख यादवको संयोजकत्वमा विशेष समिति पनि गठन गरिएको थियो ।

तर सो समितिले प्रदेशको राजधानीको टुंगो लगाएपनि प्रदेशको नामाकरण भने टुंगो लगाउन सकेको छैन । समितिको पहिलो बैठक सुरु भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो ।

सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेशको नामाकरण ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन् भने प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘जानकी’ र नेपाली काँग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेका छन् ।

प्रदेशको नामाकरणबारे सहमति जुटाउन पटक पटक बसेको समितिको बैठकमा सत्तारुढ दल मधेश प्रदेशबाट पछि हट्न तयार भएन भने विपक्षी दल पनि आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि सहमति जुट्न सकेको छैन । मधेश जोड्दै नेकपाले जानकी–मधेश र कांग्रेसले मिथिला–मधेश नामकरण गर्न सत्तारुढ दलहरुलाई प्रस्ताव गरेका थिए ।

प्रदेश २ मा सत्तारुढ दल समाजवादी पार्टीको ३० र राजपा नेपालको २५ सांसद छन् भने प्रमुख विपक्षी दल नेकपाका ३२, काँग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी फोरमका १ जना सांसद छन् ।

Skip This
Skip This
Logo