काठमाडौं ।
सवारी दुर्घटनामा परी घाइते भएका नेकपा (माले) का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिए ।
“अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक लागेको छ”, चिकित्सकको भनाइ उद्धृत गर्दै उनले भने, “सिटीस्क्यान गर्दा भित्री अङ्गमा चोटपटक लागेको देखिएको छैन ।” मैनालीको निधार र घाँटीमा चोट लागेको पोखरेलले जानकारी दिए। प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उनको अवस्था सामान्य देखिएको छ । अहिले महासचिव सामान्यरुपमा बोलचाल गरिरहेका छन् ।
भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली विपी राजमार्गको सिन्धुली क्षेत्रमा दुर्घटनामा परेका थिए । उनी सवार बा ७ च २१२० नम्बरको जीपलाई विपरीत दिशाबाट गइरहेको ना ४ च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनालीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।
दुर्घटना लगत्तै घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरुलाई ग्राण्डी अस्पतालमा ल्याइएको हो ।रासस





























प्रतिक्रिया