‘सबै राजनीतिक दल समृद्धिका लागि एक भएर लाग्नुपर्छ’ : मन्त्री अर्याल

‘सबै राजनीतिक दल समृद्धिका लागि एक भएर लाग्नुपर्छ’ : मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सबै राजनीतिक दल समृद्धिका लागि मिलेर अगाडि बढ्नुपर्ने बेला आएको बताएकी छिन् ।

स्याङ्जाको भीरकोट–१ बयरघारीस्थित सिसौघारी खेल मैदानमा जारी दोस्रो भीरकोट महोत्सवको आइतबार समापन समारोहमा मन्त्री अर्यालले विकास र राजनीतिक स्थिरताका लागि लडेका राजनीतिक दलहरु अब एकैठाउँमा उभिएर समृद्धिका लागि लाग्नुपर्नेमा जोड दिएकी हुन् ।

“केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा रहेको छ”, मन्त्री अर्यालले भनिन्, “सरकारले सबैसँग सहकार्य गर्न चाहन्छ, सरकारले हात फैलाएको छ, विकासका लागि सबैसँग सरकार सँगै हिड्न चाहन्छ ।”

मेला महोत्सवका कारणले यहाँका सम्भावनाको पहिचान गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउँदै आर्थिक विकास गर्नमा टेवा पुग्ने मन्त्री अर्यालको भनाइ थियो । “आर्थिक उन्नति र प्रगतिका लागि यस प्रकारका मेला महोत्सवले महत्वपूर्ण भूमिका खेलेका छन्”, मन्त्री अर्यालले भनिन्, “सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ ।”

भीरकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार’ भन्ने मूल नाराका साथ प्रादेशिक, औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला दोस्रो भीरकोट महोत्सव–२०७६ समापन भएको हो ।
रासस

Logo