रुपन्देही । प्रदेश नम्बर ३ को राजधानी र नामकरणको टुङ्गो लागेसँगै प्रदेश नम्बर ५ को राजधानीको विषयले चर्चा पाएको छ ।
प्रदेश नम्बर ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नम्बर ५ को राजधानीबारे चर्को बहस शुरु भएको छ । प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने संवैधानिक प्रावधान रहे पनि प्रदेश नम्बर ५ मा भने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन ।
आगामी माघ ५ गतेदेखि शुरु हुने प्रदेशसभाको पाँचौँ हिउँदे अधिवेशनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङ्गो लगाइने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । “लामो समय भएका कारण राजधानीको विषयले चर्चा पाउनु स्वाभाविक हो”, आज बुटवलमा आयोजित साक्षात्कारमा ढकालले भने, “प्रदेशसभाको पाँचाैँ अधिवेशनबाट यसको छिनोफानो हुन्छ ।” प्रदेशसभाबाट गठित राजधानी विशेष समितिले प्रतिवेदन बुझाइसकेका कारण अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने उनले बताए ।
प्रदेशका जनतालाई पायक पर्ने र जनताको भावनाको कदर हुने हिसाबले प्रदेशसभाले राजधानीको विषय टुङ्गो लगाउने प्रमुख सचेतक ढकालले बताए । “अहिले राजधानी तय गर्दा हाम्रा सन्ततिले पनि हामीप्रति गर्व गर्ने किसिमले निर्णय गर्नुपर्छ”, उनले भने । राजधानीका विषयमा पार्टीमा छलफल भए पनि ह्वीप भने नलाग्ने प्रमुख सचेतक ढकालले स्पष्ट पारे । उनले दलभित्रको एकता मात्र नभई प्रदेशसभाभित्रको एकताका लागि राजधानी र नामकरणको टुङ्गो लाग्न ढिलाइ भएका कारण अब प्रदेशसभाबाट एकताकै आधारमा तय हुने बताए ।
राजधानी विशेष समितिले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशका १२ वटै जिल्लामा पुगेर जनताको राय–सुझाव लिएको छ । समितले प्रतिबेदन बुझाइसकेकाले अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने नेपाली काँग्रेसका सचेतक तथा विशेष समितिका सदस्य निर्मला क्षेत्रीले बताए । स्थायी राजधानी र नामकरणका लागि भनेर नै प्रदेशसभाले विशेष समिति गठन गरेकाले समितिले दिएको सुझावका आधारमा राजधानी र नामाकरणको टुङ्गो लाग्ने उनको भनाइ छ । अब नयाँ ठाउँमा राजधानी बनाउँदा प्रदेशले आर्थिकभार थेग्न नसक्ने भएकाले अस्थायी मुकामलाई नै स्थायी बनाउन राम्रो हुने उनको सुझाव छ । “राजधानी तोक्न धेरै ढिलो हुँदा जनतामाझ जान लाज भएको छ, अबको बैठकबाटै यसको टुङ्गो लगाउनुपर्छ”, उनले भने । लुम्बिनी नामकरणका विषयमा भने विवाद नभएको उनले स्पष्ट पारे ।
प्रदेशको राजधानी रुपन्देही र नामकरण लुम्बिनी नै राख्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टीको सुझाव छ । गौतम बुद्धको पवित्र भूमि भएका कारण यही ठाउँमै राजधानी राख्नुपर्ने समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डेको तर्क छ । प्रदेशको राजधानीका लागि रुपन्देही नै उपयुक्त रहेकाले अन्य ठाउँबारे बहस गर्नु नै आवश्यक नभएको सचेतक पाण्डेको भनाइ छ । प्रदेशसभाका ८७ सदस्यले राजधानी र नामकरण गर्नेछन् । रासस





























प्रतिक्रिया