गोरु जुधाइलाई आर्थिक गतिविधिसँग जोडिनुपर्ने

गोरु जुधाइलाई आर्थिक गतिविधिसँग जोडिनुपर्ने

केन्द्रबिन्दु
0
Shares

नुवाकोट ।

नेपालको मौलिक परम्परागत एवं सांस्कृतिक पर्वका रुपमा स्थापित नुवाकोटको गोरु जुधाई मेलालाई आर्थिक गतिविधिसँग पनि जोडिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

रसुवा नुवाकोट पर्यटन समाजले गोरु जुधाउने पर्वबारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनका वक्ताले गोरु जुधाइलाई मनोरञ्जनको साधन मात्र नभई आर्थिक गतिविधिसँग जोडिनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले गोरु जुधाई पर्वलाई साहसिक खेल पर्यटनका रुपमा स्थापित गर्दै यसलाई आर्थिक गतिविधिसँग जोड्न जरुरी भएको बताए । उनले मेलाकै अवसरमा स्थानीय उत्पादनको बिक्री वितरण, घरबास कार्यक्रम ‘होमस्टे’ मा पाहुना व्यवस्थापन जस्ता कार्यलाई आगामी वर्षमा समावेश गरिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य रामशरण थपलियाले नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा गोरु जुधाई पर्वलाई नयाँ पर्यटकीय प्याकेज बनाएर पाहुनाको बसाई लम्ब्याउने अन्य गतिविधि सञ्चालन गर्न जरुरी भएको बताए ।

समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले गोरु जुधाइलाई पर्यटकीय ‘प्रडक्ट’ का रुपमा विकास गर्न लागिपरेको बताए । समाजकै महासचिव शिव अधिकारीले राष्ट्रिय र अन्तरराष्ट्रियरुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पछिल्ला वर्ष यो मेलालाई व्यवस्थित र परिस्कृत गर्दै लगिएको बताए ।

पत्रकार विष्णु तारुकेले मेलालाई विगतभन्दा व्यवस्थित बनाइएको र गोरु पाल्ने किसानलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमसँगै ल्याइएको बताए । विगत लामो समयदेखि नुवाकोटको तारुका तथा पछिल्लो वर्षमा रसुवा र नुवाकोटको सिमाना बेत्रावती र धादिङको धुवाँकोटमा हरेक वर्ष माग १ गते गोरु जुधाई मेला (बुलफाइट) आयोजना हुँदै आइरहेको छ ।

यस वर्ष पनि तीन क्षेत्रमा गोरु जुधाई मेला आयोजना गरिने र सोको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ चन्दनीमा गोरु जुधाई मेला हुँदैछ । यो वर्ष तारुकामा २२ हल गोरु जुधाइनेछ भने बेत्रावतीमा १२ हल र घले गाउँमा आठ हल गोरु जुधाइने जनाइएको छ । त्यस्तै धादिङको धुवाँकोटमा १६ हल गोरु जुधाइने कार्यक्रम छ ।

धुवाँकोटमा हुने मेलामा सहभागी गोरु धनी विजेतालाई सात हजार र उपविजेतालाई पाँच हजार प्रोत्साहनस्वरुप उपलब्ध गराइँदै आएको स्थानीय नेत्रप्रसाद नेपालले जानकारी दिए।

स्थानीय संस्कृतिलाई जीवित राख्दै राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा समेत यी क्षेत्रको प्रवद्र्धन गर्ने र नेपाल भ्रमण वर्षलाई सफल पार्ने अभियानमा पनि मेलाले सहयोग पुग्ने आयोजकको विश्वास छ । यस वर्ष तारुकामा पाहुनाको व्यवस्थापनका लागि घरबास (होमस्टे) समेत सञ्चालनमा ल्याइएको समाजले जनाएको छ ।
रासस

Logo