कामाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरेका छन् ।
पृथ्वी जयन्तीका अवसरमा राजधानीमा भएको चियापान कार्यक्रममा अध्यक्ष थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउँदै शाहको तस्वीर नेपाली नोटमा अंकित गर्न माग गरेका हुन् । विगतमा शाहको बारेमा भ्रम र नराकात्मक सोच रहे पनि अहिले सबै राजनीतिक दल र नेताहरू सकारात्मक रूपमा लिएकोमा खुसी व्यक्त गर्दै थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वकोरूरुपमा मनाउन, २७ गते सार्वजनिक दिवसका रूपमा मनाएर विदा दिन र उहाँको तस्वीर नेपाली नोटमा अंकित गर्न सत्तारुढ दल, सरकार र प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

थापाले देशमा देखा परेको सबै प्रकारका चुनौतीको सामना गरेर शान्ति र स्थायित्व कायम गरी सबल र समुन्नत नेपाल निर्माणमा सबै राजनीतिक दल एकता र सहमतिमा आउनुपर्ने बताए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय एकताको सन्दर्भमा शाहले ठोस आधार तयार गरेको कुरालाई सम्मानका साथ सम्झिनुपर्ने बताए । उनले राष्ट्रिय एकताको जगमा उभिएर देशका सबै जाति, भाषा, धर्म र संस्कृतिलाई जनतालाई एकतावद्ध बनाउँदै निरन्तर अगाडि बढ्न आग्रह गरे ।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएर एकता दिवस सरकारी स्तरबाट भव्यताका साथ मनाउनुपर्ने बताए । शाहले बनाएको मुलुकलाई सबैले संरक्षण गरी राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने उनको धारणा थियो ।
आइतबार पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभरि नै विभिन्न कार्यक्रम गरी मनाइएको छ ।





























प्रतिक्रिया