आज देशभर वर्षा र हिमपातको सम्भावना

आज देशभर वर्षा र हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।

उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले बुधबार र बिहीबार देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

“आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ”, मौसमविद् कँडेलले भनिन्। पश्चिमी वायुका प्रभाव आगामी शनिबारसम्म कायम रहने बताइएको छ।

आज राति देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै मध्य र पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ। देशभर आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरण अनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकतम तापक्रम १६ दशमलव तीन डिग्री सेल्सियस रहेको थियो । रासस

Logo