रूपन्देही ।
गृहकार्य नगरेको भन्दै शिक्षकबाट कुटिएका किशोर विद्यालय जान छाडेका छन् । कुट्ने शिक्षकलाई कारबाही भएको छैन । किशोरका परिवारले शिक्षकविरुद्ध दिएको उजुरी पनि प्रहरीले दर्ता गरेको छैन ।
सम्मरीमाई–६ पोखरहवास्थित ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने १३ वर्षीय मोहम्मद तौफिक देवानलाई कम्प्युटर विषय शिक्षक ३५ वर्षीय शैलेन्द्र बरईले कुटेका थिए । कम्प्युटरको गृहकार्य नगरेर कक्षामा आएको भन्दै उनलाई विषय शिक्षकले कुटेको विद्यालयले जनाएको छ ।
सम्मरीमाई–६ का १३ वर्षीय देवानले दुखाइ कम भए पनि घाउ निको नभएको बताए । घाउ निको भएपछि मात्रै विद्यालय जाने र पढ्ने उनले बताए । ‘सरले बेस्सरी पिट्नुभयो,’ सम्मरीमाई–६ का १३ वर्षीय देवानले घटनाको पाँच दिनपछि आइतबार भने, ‘लौरोले बायाँ खुट्टा, हात र आँखामा हिर्काउनु भो ।’ जथाभावी हिर्काएकाले धेरै ठाउँमा चोटैचोट भएको उनले बताए । गत बिहीबारदेखि उनी विद्यालय गएका छैनन् । अन्य ठाउँको दुखाइ कम भए पनि आँखामा पीडा भइरहेको उनले सुनाए ।
विद्यार्थी कुट्ने शिक्षकलाई कारबाही चलाउनुपर्नेमा प्रहरीले उल्टै मेलमिलाप गराउन खोजेको आफन्तले आरोप लगाएका छन् । प्रधानाध्यापक सुरेन्द्र बरईलाई पटक–पटक फोन गरेपछि सम्पर्कमा आएका उनले बाबुलाई हल्का चोट लागेकाले उपचार गराएर घर ल्याएको जानकारी दिए । घर आएपछि देवानले विद्यालयमा भएको घटनाबारे परिवारलाई बताएका थिए ।
कान्तिपुरबाट





























प्रतिक्रिया