आगामी साता लाग्दैछ खण्डग्रास सूर्यग्रहण

आगामी साता लाग्दैछ खण्डग्रास सूर्यग्रहण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आगामी साता खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ। पुस १० गते बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा शुरू हुने ग्रहण दुई घन्टा ४९ मिनेटको रहनेछ । ग्रहण बिहान ११ बजेर ३१ मिनेटमा समापन हुने बताइएको छ।

ग्रहण अवधिभर सूर्यलाई चन्द्रमाले ढाक्ने भएकाले सूर्य कालो र वरिपरीको भाग मात्रै उज्यालो ‘रिङ अफ फायर’का रूपमा देखिने खगोविद्को भनाई छ ।

काठमाडौैंबाट करिब ४८ प्रतिशत सूर्यको भाग कालो देखिनेछ भने पश्चिम नेपालबाट चन्द्रमाले सूर्यलाई ढाकेको भाग ५१ प्रतिशत हाराहारीमा रहने बताइएको छ।

नेपाल, भारत, चीनको तिब्बत, भुटान, साउदी अरेबिया, कतार, इन्डोनेसिया, फिलिपिन्स लगायतका मुलुकबाट ग्रहण ‘रिङ अफ फायर’का रूपमा देखिने खगोलविद् जयन्त आचार्यले बताउनुभयो।

‘सूर्यको बीचमा चन्द्रमा रहने भएकाले ‘बलय सूर्य’ (बाला जस्तो आकारमा) ग्रहण देखिन्छ, भारतको दक्षिण भेग, श्रीलंका, मलेसिया, सिंगापुर, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर ग्रहण समापन हुन्छ’ –उहाँले भन्नुभयो।

अजर बैजानमा भने नेपालमा जस्तै प्रस्ट खण्डग्रास देखिने आचार्यले पस्ट्याउनुभयो। हिन्दू धर्मशास्त्र अनुसार कर्कट, तुला, कुम्भ र मीन राशीबाहेक अन्य राशीलाई यो ग्रहण शुभ मानिएको छैन।

चिकित्सक तथा खगोलशास्त्रीले नांगो आँखाले ग्रहण हेर्न उपयुक्त नहुने सुझाब दिएका छन्। खुला आँखाले हेरेको खण्डमा आँखाको ज्योति गुम्न सक्ने वा दीर्घकालमा दृष्टि कमजोर हुन सक्ने उनीहरूको ठहर छ।

तर विशेष प्रकारको चस्मा प्रयोग गरी ग्रहण अवलोकन गर्दा फरक नपर्ने र यो अवसरलाई अध्ययनको दायरा फराकिलो बनाउने उपयुक्त अवसर भएको विज्ञहरुको तर्क छ।

‘खगोल विज्ञानमा चासो राख्ने जो कोहीका लागि यस्तो ग्रहण यो दुर्लभ अवसर हो, सावधानी अपनाएर नियाल्दा स्वास्थ्यमा कुनै असर पर्दैन’–आचार्यले भन्नुभयो।
नेपाल समाचारपत्रबाट

Logo