बारा,
बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ । नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले बताउनुभयो ।
मेलामा आउने करीब नौ बाटामा गाडी र पैदल हिँड्ने भक्तजनको उत्तिकै भीड रहेको महागढीमाई नगरपालिका अन्तर्गत रहेको पतरहटीका सन्तोष यादवले जानकारी दिनुभयो । भारतको दिल्ली, बुम्बई, कोलकता, हैदरावाद, पटना, मोतिहारी दरभङ्गा, सितामडी, बेतिया, रक्सौल, नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र सार्कका बङ्गलादेश, ढाका, पाकिस्तान, बर्माका भक्तजन अवलोकन गर्न आउने गरेका गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताउनुभयो । दर्शनका लागि खासै राम्रो प्रबन्ध नमिलाइएको भारत मोतहारीका अच्छेलाल सहनीले बताउनुभयो ।
यसैबीच सोमबार राति साढै १ बजे तान्त्रिक विधिबाट पूजापाठ गर्न शुरु गरेपछि साढे ३ बजे करीब दुई घण्टामा बत्ति बलेपछि अन्यविधि गरेसकेपछि मंगलबार ७ः१५ बजेदेखि बलि शुरु गरिएको पूजारी चौधरीले बताउनुभयो । करीब पाँच हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ । मेलामा जताततै फोहर नै फोहर रहेको भक्तजनले गुनासो गरेका छन् । शौचालय बस्ने ठाउँ र नुहाउने ठाउँको राम्रो प्रबन्ध नमिलाइएको दर्शनका लागि भारतबाट आएका पुकार यादवले बताउनुभयो ।
मेलामा सामान बेच्नेले मनपरी रकम असुलिरहेका बारागढी गाउँपालिका– ४ का श्रीचन्द्र साहले बताउनुभयो । पाकेटमारले मोबाइल, सुन–चाँदीका गहना, नगदसमेत चोर्ने गरेका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले बताउनुभयो । यसैबीच मन्दिरका पूजारी मङ्गल चौधरीले बोका बलि बुधबार मात्र गरिने बताउनुभयो । बिहान ४ बजेदेखि बलि शुरु हुने पूजारी चौधरीले जानकारी दिनुभयो ।
गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ कमिटीका अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा समावेश गर्न आग्रह गर्नुभएको छ ।प्रत्येक पाँच वर्षमा मेला लाग्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न नेता साहले नेपाल सरकार र युनेस्कोलाई आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो । यसको पौराणिक इतिहास छ । यहाँ विश्वकै ध्यान केन्द्रित गर्ने महामेला लाग्छ । यो सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने सम्पदा सूचीकृत भए मधेशको गौरव बढ्नेछ ।”
अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवद्र्धन गरी मधेशमा पर्यटक ल्याउन सकिने पनि बताउनुभयो । उहाँले जानकीको जन्मस्थल जनकपुरस्थित जानकी मन्दिरलाई पनि विश्वसम्पदा सूचीमा समेट्न आग्रह गर्नुभयो । नेपालका १० वटा सम्पदा युनेस्कोले सूचीकृत गरे पनि प्रदेश नं २ का कुनै पनि सम्पदा हालसम्म समेटिएको छैन ।





























प्रतिक्रिया