काठमाडौं,
निर्वाचन आयोगले मौन अवघिमा चुनावी प्रचारप्रसार नगर्न राजनीतिक दल, विभिन्न उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, आम मतदाता र सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार रातिदेखि शुरू भएको मौन अवधिको स्मरण गराउँदै आयोगले निर्वाचन सम्पन्न नहुञ्जेलसम्म यस्तो प्रचारप्रसार नगर्न आग्रह गरेको हो।
मतदान हुने ४८ घन्टा अघिदेखि शुरू हुने मौन अवधिलाई संवेदनशील अवधिका रूपमा लिने गरिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोजित पत्रकार भेटमा यस अवधिमा वेभसाइड, ट्विटर, फेसबुक, भाइबर वा एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको बताउनुभयो।
उहाँले यस अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाकधम्की, दबाब वा प्रभावमा पारी मतदाताहरूलाई आतंकित पार्ने, मतदान केन्द्रमा जान रोक्ने, मतदाता परिचयपत्र कब्जा गर्ने, एउटाको नाममा अर्कैले मतदान गर्ने, निर्वाचन क्षेत्र बाहिरका व्यक्तिहरू प्रवेश गरी शंकास्पद गतिविधि गर्ने, गलत तथ्यहीन र भ्रामक हल्ला फिजाउने, कोही कसैप्रति, घृणा र द्वेष फैलाउने जस्ता निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कार्य हुन नदिन आयोग सजग रहेको दाबी गर्नुभयो।





























प्रतिक्रिया