कर्णाली प्रदेश : योजना कार्यान्वयनमा तीव्रता दिन मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेश : योजना कार्यान्वयनमा तीव्रता दिन मुख्यमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

सुर्खेत,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजना कार्यान्वयनलाई तीव्रता दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको शुक्रबार प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा उहाँले योजना कार्यान्वयन र बजेट खर्चलाई परिणाममुखी बनाउन निर्देशन दिनुभएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शाहीले मन्त्रालय र त्यस मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीलाई कागजमा समय खेर फाल्ने नभई प्रतिफलमा देखाउन सुझाउनुभयो । “विधि प्रक्रियाका नाममा योजना कार्यान्वयनमा ढिलाइ गर्ने, काम रोक्ने, टेबुलमै काम अल्झाउने प्रवृत्ति सह्य हुन सक्दैन”, उहाँले भन्नुभयो, “समय तालिका बनाएर परिणाम देखिने गरी काम गर्नुस् ।” भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कार्यान्वयनले नै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने प्रष्ट्याउँदै मुख्यमन्त्री शाहीले विगत वर्षबाट पाठ सिकेर बजेट कार्यान्वयनको गति अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारले तय गरेको नयाँ सङ्गठन संरचना बमोजिमका कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण बजेट कार्यान्वयनमा केही ढिलाइ भए पनि दोस्रो चौमासिकमा मन्त्रालयमा प्राप्त बजेट खर्च गरिसक्ने गतिका साथ काम गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्रालय मातहतका कार्यालयलाई समय तालिका तय गरेर काम गर्न निर्देशन दिँदै उहाँले सोही बमोजिम काम भए नभएको मन्त्रालयले अनुगमन गर्ने बताउनुभयो ।

कर्मचारीलाई थप सुविधा प्रदान गरिने

कर्णाली प्रदेश सरकारले मापदण्डका आधारमा काम गर्ने कर्मचारीलाई थप सुविधा प्रदान गर्ने तयारी गरेको छ । मुख्यमन्त्री शाहीले विधि र पद्धतिमा रहेर कर्णालीमा काम गर्ने कर्मचारीलाई क, ख, ग र घ वर्गमा विभाजन गरिने र सोही अनुसार थप सुविधा प्रदान गर्ने तयारी भएको बताउनुभयो । केही कर्मचारीमा गर्न सक्छु भन्ने तर केहीमा नगर्ने प्रवृत्ति रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृतसमेत गरिने बताउनुभयो ।

समीक्षा गोष्ठीमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार शाहले गत वर्षको तुलनामा यस वर्ष मन्त्रालयको कार्यप्रगति राम्रो रहेको बताउनुभयो । “गत वर्ष यस अवधिमा योजना छनोटको काम नै सकिएको थिएन”, शाहले भन्नुभयो, “चालू आवमा धेरै योजना ठेक्का भई कार्यान्वयन प्रक्रियामा छन् ।” चालू आवको दोस्रो चौमासिकमा नै सन्तोषजनक परिणाम देखाइ छाड्ने शाहीको जिकिर थियो ।

Logo