मकवानपुर,
रामबहादुर चेपाङको बारीमा कोदो पाक्न अझै एक महिना बाँकी छ। तर घरमा खानेकुरा सकिँदै गएपछि उनी खानेकुरा जोहो गर्न जुटेका छन् । आजभोलि बेलुकी मात्र खाना पकाउन उनको घरमा चुलो बल्छ। मकवानपुरको राक्सिराङ–७ दामराङका रामबहादुरको परिवारले गिठ्ठा खाएर बिहानको छाक टार्न थालेको दुई साता बित्न लाग्यो। ‘कोदो पाक्न बाँकी छ, घरमा भएको मकै पनि सकिन लाग्यो’, उनले भने, ‘खानाको सट्टा दैनिक एक छाक गिठ्ठा खाँदै आइरहेका छौं।’
उनको परिवारलाई आफ्नो बारीमा उब्जिएको अन्नपातले ६ महिना मात्र खान पुग्छ । अरू समय उनी ज्याला–मजदुरी गरेर परिवार पाल्छन् । कन्दमुलले पनि भान्छा टर्छ । ‘भोर्ला, दाब्रा, कोइरालो, कालो कोइराला पनि हाम्रो पुरानो खानेकुरा हो तर यो मौसमी भएकाले सधैँ पाइँदैन’, चेपाङले भने, ‘घरमा सधैँ खानेकुराको अभाव गिठ्ठाले टार्दै आएको छ।’
दामराङकै सूर्यबहादुर चेपाङ पनि घाँसपातका लागि जंगल जाँदा फुर्सद मिलाएर गिठ्ठा खोजेर ल्याउँछन्। चेपाङ पुर्खाले खानेकुराकै रूपमा वर्षभरि प्रयोग गर्दै आएको गिठ्ठा उनी खाजा र अनिकालका बेला खानाको रूपमा प्रयोग गर्छन्। ‘मैले थाहा पाएदेखि नै घरमा गिठ्ठा टुटेको छैन, घरमा खानेकुरा सकिँदै गएपछि गिठ्ठाले भान्सा भरथेग गरेको छ’, सूर्यबहादुरले भने, ‘गिठ्ठा नपाउने हो भने अनिकालमा साहुसँग ऋण लिनुको विकल्प हुन्थेन।’
गिठ्ठा दामराङजस्तै यस क्षेत्रका चेपाङ बाहुल्य रहेको विकट क्षेत्रमा बर्सेनि अनिकालको चपेटामा पर्ने चेपाङको वैकल्पिक खाद्यान्न हो। तर, वर्षभरि खान पुग्ने चेपाङहरूले पनि गिठ्ठा खान छाडेका छैनन्। प्रायः चेपाङको घरमा खाजाको रूपमा गिठ्ठा खाने गरिन्छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया