बुढानीलकण्ठ नारायण मन्दिरमा निर्मित मठाधीश भवनको उद्घाटन

 बुढानीलकण्ठ नारायण मन्दिरमा निर्मित मठाधीश भवनको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले २०७६ कात्तिक २० गते काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिकामा अवस्थित श्री बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरे । उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरू को सहभागिता थियो ।

श्री बुढानीलकण्ठ मन्दिर काठमाडौं जिल्लाको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरूको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलो प्रस्तर मूर्ति हो ।

भवन उद्घाटन गर्दै पुरीले भने – ‘संसारभर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ । यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानबाट दैनिक हजारौको संख्यामा तीर्थयात्री आउँछन् । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रूपमा रहनेछ।’

भारत सरकारको २ करोड १८ लाख अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरूलाई आश्रय दिनेछ । जिल्ला समन्वय समिति काठमाडौंले यस परियोजनालाई कार्यान्वयन गरेको हो ।

दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकाले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिएको छ ।

Skip This
Skip This
Logo