रौतहट जिल्ला अदालतमा आलमको बयान सुरु, बयानपछि बहस हुने

रौतहट जिल्ला अदालतमा आलमको बयान सुरु, बयानपछि बहस हुने

केन्द्रबिन्दु
0
Shares

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर तथा जिउँदै इँटाभट्टामा हालेर मानिस मारेको अभियोग लागेका कांग्रेस सांसद महम्मद अफताब आलमको बयान सुरु भएको छ । बयान सकिएपछि थुनछेक जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा थुनछेक बहस सुरू हुनेछ ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमको केशमा वादी र प्रतिवादी दुवैतर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन् । आलमको तर्फबाट मात्रै करिब २८ जनाले वकालतनामा लिएको बुझिएको छ । सरकारी वकिलको तर्फबाट पनि उत्तिकै संख्याका वकिलले बहस गर्ने भएका छन् । सरकारी वकिलको कार्यालय रौतहटले जिल्ला अदालतमा अभियुक्त आलमसहित १० जनाविरुद्ध सोमबार जन्मकैदको मागसहित मुद्दा दर्ता गरेको थियो ।

वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थी, महान्याधिवक्ताको कार्यालय काठमाडौंबाट आएका सूर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्यायाधिवक्ता रुद्र पन्थी र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गर्ने बुझिएको छ । यस्तै बादीकै तर्फबाट वकिल युवराज संग्रौलासहितको ५ जनाको टोली र तत्कालीन नेकपा एमालेका तर्फबाट २०६४ सालको आलमका निकटतम प्रतिद्वन्द्वी शैलेन्द्र कुमार साहको तर्फबाट पनि ८ र १० वकिलले बहस गर्ने चर्चा रहेको छ ।

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दासहित थप दुई कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको थियो । प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको थियो । यस क्रममा प्रहरीले उच्च पदस्थदेखि घटनास्थल क्षेत्रका विभिन्न ३५ जनाभन्दा बढीसँग बयान लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपीले जानकारी दिए ।

Logo