उपनिर्वाचनको कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहमा रिक्त जनप्रतिनिधि चयनका लागि हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो  । जस अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त जनप्रतिनिधि चयन गर्न हुने निर्वाचनका लागि कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ ।

सोही दिन अपराह्न उम्मेदवारको सूची सार्वजनिक गर्ने र २२ गते विरोधमा उजुरी दिनसक्ने र २३ गते अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका तय भएको निर्वाचन आयोग जनाएको छ ।

प्रतिनिधि सभातर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेश सभातर्फ भक्तपुर १ (क),  दाङ ३ (ख) लगायतमा उपनिर्वाचन हुँदैछ ।

निर्वाचन कार्यक्रम 

१. सम्वत् २०७६ साल मंसिर १४ गते शनिवारका दिन प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त पदहरूमा उपनिर्वाचन सम्पन्न गर्ने गरी नेपाल सरकार र निर्वाचन आयोगबाट २०७६ साल श्रावण १६ गते (भोजपुर जिल्ला पौवादुङ्मा गाउँपालिका वडा नं. १ र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १६ को हकमा क्रमशः २०७६।०५।०४ र २०७६।०६।०७ गते) निर्वाचनको मिति घोषणा भए अनुरुप प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष समेत ४८ गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन व्यवस्थापनको तयारी सम्बन्धी कार्यहरू भइरहेका छन् ।

२. प्रतिनिधि सभा सदस्यतर्फ कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ र प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १, वाग्लुङ्ग जिल्लाको प्रितिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ र दाङ्ग जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को २०७६ साल मंसिर १४ गते हुने उपनिर्वाचनको लागि मिति २०७६।०७।२१ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २१ गते दिउसो १.३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउसो १.३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, २४ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय सहितको निर्वाचन कार्यक्रम आयोगबाट मिति २०७६/०६/१५ गते स्वीकृत भएको व्यहोरा जानकारी गराइन्छ ।

३. स्थानीय तहतर्फ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख–१, पाचँथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, संखुवासभा जिल्लाको मकालु गाउँपालिका र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाहरूको अध्यक्ष–३, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न/अन्य ३४ वटा जिल्लाका ४० वटा स्थानीय तहका विभिन्न वडाहरूका वडा अध्यक्ष–४३ गरी जम्मा ४८ रिक्त पदको २०७६ साल मंसिर १४ गते हुने उपनिर्वाचनको लागि मिति २०७६।०७।२७ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २७ गते दिउसो १.३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते बिहान ११ बजेदेखि दिउसो १.३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २९ गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३० गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, ३० गते दिउसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मिति २०७६।०८।०१ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय सहितको निर्वाचन कार्यक्रम आयोगबाट मिति २०७६/०६/१५ गते स्वीकृत भएको व्यहोरा जानकारी गराइन्छ ।

४. आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनको लागि पठाइसकिएको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।

Logo