नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षरअघि नेपाल र चीनबीच प्रतिनिमण्डलस्तरीय वार्ता भएको थियो । हस्ताक्षर भएका १७ समझदारी पत्र पनि आदानप्रदान गरिएको छ । हस्ताक्षर भएको सम्झौता पत्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ् यीबीच आदानप्रदान भएको छ । त्यस्तै परराष्ट्र सचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।
दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ। त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ।
यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको छ। त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ।
नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जा, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, मदन भण्डारी विश्व विद्यालयलगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ ।






























प्रतिक्रिया