छुट्टा छुट्टै दुर्घटनामा चार जनाको मृत्यु , ११ घाइते

छुट्टा छुट्टै दुर्घटनामा चार जनाको मृत्यु , ११ घाइते


नवलपरासी,

पश्चिम नवलपरासीमा विहिबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४३ प २९७९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

सो घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन ।

यस्तै खाल्डोमा जमेको पानी विद्युतीय मोटरबाट निकाल्ने क्रममा करेन्ट लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बसहियाका २२ वर्षीय अभिमन्युसिंह कुर्मीको उपचारका क्रममा आज मृत्यु भएको हो । उहाँको नवलपरासीको बर्दघाटस्थित शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिनुभयो ।

दुर्घटनामा सात घाइते

यता हुम्ला सदरमुकाम सिमकोटबाट खार्पुतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा विहिबार सात जना घाइते भएका छन् ।

लु २ च २२६७ नं को जीप दुर्घटना हुँदा कमला टमटा, बेलु हदेली जेठरा, रिभा जेठरा, अशकला जेठरा, दीपक टमटा, हौसेली रोकाया र शैलेश रोकाया घाइते भएका हुन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । जीपमा कति जना यात्रु सवार थिए भन्नेबारे जानकारी प्राप्त नभएको घर्तीमगरले बताउनुभयो ।

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

यस्तै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् ।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नं को बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा ३६ वर्षीय सुरज धिताल र नौ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु हुने श्रीमती हुन् भने घाइते सुरज मृतकका श्रीमान् र अर्पण छोरा हुन् । दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति मृत्यु भएको हो । उनको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो । दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

Logo