कृष्णबहादुर महरा काण्ड अब के हुन्छ ? यस्तो छ कानुनी व्यवस्था

कृष्णबहादुर महरा काण्ड अब के हुन्छ ? यस्तो छ कानुनी व्यवस्था

केन्द्रबिन्दु
0
Shares

  • कृष्णसिंह धामी ।

काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिए । मंगलबार राजीनामा दिएका महरा बुधबारबाट पदमुक्त भएका छन् । त्यस्तै उनलाई सांसद पदबाट पनि राजीनामा दिन दवाव परेको छ । उनको पार्टी नेकपा नेताहरूले सांसद पदबाट समेत राजीनामा दिन दवाव दिएका हुन् ।

राति आफ्नै कोठामा आएर मदिरा सेवन गर्दै बलात्कार गरेको आरोप लगाउने महिलाले आफ्नो बयान फेरिएको छ । आरोप लगाएको २४ घण्टा नबित्दै बयान फेरेसँगै घटनाले नयाँ मोड लिएको छ । सुरुमा आरोप लगाउँदा महरामात्रै अनुसन्धानको दायरमा आउँथे । तर अब दुवैजना अनुसन्धानको दायरमा आउनुपर्ने हुन्छ ।

नेपालको कानुनले श्रीमानलाई समेत श्रीमतीको इच्छाविपरित शारीरिक सम्बन्ध राख्न बन्देज लगाएको छ । यस्तो गरेमा बैवाहिक बलात्कार हुने र पाँच वर्षसम्म जेल सजायको व्यवस्था छ । तर परस्त्रीको कोठामा गएर बलात्कार गरेको आरोप लागेका महरामाथि प्रहरीको अनुसन्धान फितलो देखिएको छ ।

यस्तो छ कानुनी व्यवस्था

यो प्रकरणमा अब दुवै जना अनुसन्धानमा दायरामा आउनुपर्ने हुन्छ । नेपालको कानुनले यदि महरामाथि लगाइएको आरोप सहि हो भने प्रमाण संकलन गर्दै कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । बलात्कार गरेको प्रमाणित भएमा उमेर अनुसार सजाँय हुन्छ । दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिलालाई जबरजस्ती करणी गरेमा जन्मकैदको सजाय हुने व्यवस्था छ ।

त्यस्तै दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म, चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म, सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म र अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म जेल सजाय हुने व्यवस्था मुलुकी अपराध संहिता–२०७४ ले गरेको छ ।

महरामाथि लागेको आरोप अनुसन्धान गर्दै दोषी देखिएमा कानुन बमोजिम कारवाही हुनुपर्ने वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यको भनाइ छ । त्यसको लागि प्रहरीले घटनास्थलमा उपलब्ध प्रमाण, महिलाको स्वास्थ्य परीक्षण लगायत अन्य प्रमाणबाट अनुसन्धान गर्नुपर्ने हुन्छ ।

बयान फेर्दा महिलालाई कस्तो सजाय ?

नेपालको कानुनले कुनै पनि व्यक्तिको अपमान वा अमानवीय व्यवहार गर्न बर्जित गरेको छ । कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराएमा कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । राष्ट्रसेवकले उक्त कसूर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुनेछ । महरामाथि आरोप लगाउने महिला राष्ट्रसेवक कर्मचारी भएकाले पनि उनीमाथि यो अभियोजन लाग्न सक्छ ।

यदि महरामाथि आरोप लगाउने महिलाले पछिल्लो पटक दिएको बयानबाट बदनाम गराउने मनसायको देखिएको छ । जसले गर्दा उनी पनि अनुसन्धानको दायरामा आउनुपर्ने आचार्यको दाबी छ ।

दुवै जना आरोपी

बलात्कारको आरोप लगाउने महिलाको बयान फेरिएकाले यतिबेला महरा र ती महिला दुवैजना आरोपी भएको कानुन व्यवसायीको भनाइ छ । वरिष्ठ अधिवक्ता आचार्य भन्छन्, ‘केटा केटी खेलेको जस्तो कहाँ हुन्छ र ? पहिला हो भन्ने, अनि अर्को पटक होइन भन्ने । प्रहरी प्रशासनले ती महिलामाथि पनि अनुसन्धान सुरु गर्नुपर्‍यो ।’

कानुनले अनावश्यक रुपमा आरोप लगाउन बर्जित गरेको छ । महरा र आरोप लगाउने ती महिला दुवै जनाका कारण समाजमा नकारात्मक असर परेको आचार्य बताउँछन् । उनी भन्छन्, ‘समाजमा अनावश्यक रुपमा आरोप लगाउन कानुनद्वारा बर्जित छ । रेप हो भने महरामाथि पनि अनुसन्धान हुनुपर्छ । यदि महिलाले होइन भन्छ भने किन समाजलाई बेकुफ बनायो ? उनीमाथि सार्वजनिक कसुरमा पनि कारवाही हुनुपर्छ ।’

सुरुमा महिलाले महरामाथि बलात्कार गरेको तथा पछि दुव्यर्वहार गरेको आरोप लगाएकी थिइन् । महिलाले लगाएको दुवै कार्य कानुनले बर्जित गरेको छ । सुरुमा महराले दुव्यर्वहार गरेको आरोप र पछि महिलाले दिएको सफाइले महरामाथि पनि दुव्यर्वहार भएको भन्दै आचार्य भन्छन्, ‘व्यक्तिलाई दुव्र्यवहार गरेको भन्ने कानुन नयाँ मुलुकी संहितामा छ त्यो अनुसार पनि कारवाही गर्न सकिन्छ । जुन कानुन लगाए पनि उनीमाथि अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनुपर्‍यो । यसमा अनुसन्धान गर्ने र मुद्दा अभियोजन गर्ने निकायले छान्ने कुरा हो ।’

महिलाले अब महराको कुनै गल्ती छैन भन्दैमा नहुने वरिष्ठ अधिवक्ता आचार्यको भनाइ छ । उच्च पदमा रहेका व्यक्तिले पदको दुरुपयोग गरेर बयान फेर्न पनि लगाएको हुन सक्ने भन्दै वरिष्ठ अधिवक्ता आचार्य भन्छन्, ‘महिलाले हैन भन्दैमा त्यस्तो हुदैन् । दुवै जना अनुसन्धानको दायरमा हुन्छन । कानुनले के मान्छ भने जसो कहिले काही ठूलो पदमा रहेको व्यक्तिले पदको दुरुपयोग गर्दै उसको बयान पनि परिवर्तन गर्न लगाएको हुनसक्छ । त्यसरी परिवर्तन गरेको हो भने ती महिला झन पीडित भइन् ।’

यो घटना अब राष्ट्रिय इस्यु नै बनिसकेकाले राज्यले गम्भीर भएको छानविन गर्नुपर्ने उनको तर्क छ । दुवैजनामाथि अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाही गर्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘यसमा न्याय हुने भनेको दुवैलाई अनुसन्धानको दायरमा ल्याउनु हो । अनुसन्धान गर्दै जो दोषी छ यसलाई कारवाही गर्ने । दुव्यर्वहार वा बलात्कार नगरेको भए महिलालाई कारवाही गर्नुपर्छ ।  बलात्कारको प्रमाणहरू भेटियो भने महरालाई कारवाही गर्नुपर्छ । अहिलेको लागि दुवै जना आरोपी हुन् ।’

यो घटनाले समाज भोलि गलत बाटोमा जानसक्ने उनको तर्क छ । सुरुमा आरोप लगाउने पछि बयान फेर्ने प्रवृतिले भोलि समाज यस्तो बाटोमा हिड्दा कोहीले पनि न्याय नपाउने भन्दै आचार्य भन्छन्, ‘पहिला आरोप लगाइदिने । अर्को दिने होइन भन्ने त्यो ठीक भएन् । दवावमा परेर आफ्नो बयान फेरेको हो भने त्यो पनि अनुसन्धान हुनुपर्यो । हैन महराले केही नगरेर आरोप लगाएको हो भने महिलामाथि कारवाही हुनुपर्छ ।’

प्रहरीले थाल्यो दुवै जनामाथि अनुसन्धान

प्रहरीले आरोप लगाउन महिलामाथि निगरानी राख्नुका साथै घटनाको अनुसन्धान थालेको छ । महानगरीय प्रहरी बृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले अनुसन्धान थालेको हो । आफ्नै बयान फेर्ने ती महिलाको सुरक्षासँगै निगरानी राख्नको लागि एक जना असई र एक महिला प्रहरी खटिएका छन् ।

उनको आरोप र फेरिएको बयानबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले महिलाको कोठाबाट बरामद गरेका रक्सीको बोतल, गिलास र महराको भनिएको चश्मा बरामद गरेर ती वस्तुको फिंगर टेस्टका लागि फरेन्सिक ल्याब पठाइने प्रहरी स्रोतकोले जनायो । सुरुमा आरोप लगाउनु र पछि बयान फेर्नुको कारणबारे प्रहरीले अनुसन्धान थालेको एक प्रहरी अधिकारीले बताए ।

Logo