- रामजी बलामी-
काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो र ऐतिहासिक सडक (गणेशमान मार्ग) सोमबारदेखि संचालनमा आउने भएको छ। स्तरोन्नतिका लागि बन्द गरिएको सडक तिहारसम्मका लागि संचालनमा ल्याउन लागिएको हो ।
समयमा सडक नबन्दा चित्लाङका स्थानीयले सास्ती खेप्दै आएका थिए । स्थानीयको मागलाई ध्यानमा राख्दै सडक संचालन गर्न लागिएको थाहा नगरपालिका ९ क वडाअध्यक्ष परशुराम श्रेष्ठले जानकारी दिए। उनले उक्त सडक खण्डमा ६ वटा मेसिनले काम गरिरहेको र तिहार लगतै पुन: काम थाल्ने बताए ।
यो सडक स्तरोन्नतिका लागि पीएस/किराँतेश्वर जेभी कन्स्ट्रक्सनले ठेक्का पाएको छ। निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेको भन्दै स्थानीयले बिरोध गर्दै आएका छन् । यो मार्ग भएर करिव एक घण्टामै काठमाडौँ आइपुग्ने चित्लाङका स्थानीय अहिले ४ घण्टाको यात्रा गर्न बाध्य छन्।

उनीहरु अहिले बाइरोडको बाटो र कुलेखानी फर्पिङ्को बाटोबाट काठमाडौँ आवतजावत गर्दै आएका छन् । चन्द्रागिरीको बाटो बन्द गरेपछि स्थानीय उत्पादनले समेत बजार नपाएको स्थानीय राजन बलामीले गुनासो पोखे ।
यो सडक स्तरोन्नत्तीका क्रममा ढुंगा, गिट्टी लिलामीको विषय पनि विवादित बनेको थियो । साढे २२ किमीको यो सडक मर्मतको पछिल्लो काम आव २०७१/०७२ देखि शुरु गरिएको थियो ।
यो सडक कसले बनाउने भन्ने विषयमा प्रदेश र केन्द्रिय सरकारबीच समेत तालमेल मिल्न नसक्दा केही महिना निर्माणको काम समेत प्रभावित भएको थियो ।

२०७५ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो सडक स्तरोन्नतीको काम केन्द्रिय सरकारले गर्ने निर्णय गरेको थियो । यो सडक स्तरोन्नतीका लागि करिव एक अर्ब १३ करोड रुपैंया लागत अनुमान गरिएको छ ।
यो सडक सम्पन्न भएपछि थाहानगरको टिस्टुङ, पालुङ्, चित्लाङ्, कुलेखानीसहित तराईका जिल्लाहरुको यात्रा गर्नका लागि पनि सहज हुनेछ ।
गत जेठमा स्थानीय युवाहरुले यसरी बिरोध गरेका थिए ।





























प्रतिक्रिया