प्रेममा पनि यस्तो हुन्छ र !

प्रेममा पनि यस्तो हुन्छ र !


रहिमन धागा प्रेम का, मत तोरो चटकाय । टूटे पे फिर ना जुरे, जुरे गाठ परी जाय ।।
अर्थात् रहिम भन्छन् कि प्रेमसम्बन्ध अतिशय कोमल हुन्छ । यसलाई झटका दिएर तोड्नु उचित हुँदैन । प्रेमको धागो एक पटक चुँडिएपछि पुनः जोड्न कठिन हुन्छ र जबर्जस्ती जोडियो भने पनि गाँठो पर्छ ।

प्रेम एक सुन्दर अनुभव हो, जसलाई शब्द बयान गर्न असम्भवप्रायः छ । सामान्यतः के देखिन्छ भने युवावस्थामा लागेको प्रेमको मात विवाहपश्चात् तीव्र रूपले कम हुन थाल्छ । हातमा हात अनि साथमा साथ राखेर सँगै मर्नेबाँच्ने कसम लिनेहरू एकअर्कालाई फुटेको आँखाले समेत हेर्न चाहँदैैनन् ।

खासमा के हुन्छ भने, विवाहपछि सम्बन्धले सामाजिक मान्यताका साथै कानुनी अधिकारसमेत प्राप्त गर्छ । नवविवाहित जोडीमा एकअर्कासँगको चाहना एवं अपेक्षा वृद्धि हुन थाल्छ । उनीहरू आफू उस्तै रहन्छन् तर जोडीचाहिँ आफूजस्तै बनोस्, आफूअनुकूल परिवर्तित होस् भन्ने चाहना राख्छन् ।

व्रिटिस सिर्च एजेन्सी जिन्जरको नवविवाहित जोडीमाथि गरिएको एक सर्वेक्षणबाट अनेकौं रोचक तथा अचम्मलाग्दा तथ्य बाहिर आए । रिलेसन एक्सपर्ट एवं साइकोलोजिस्ट डोना डाउसन भन्छिन्– यो अनुसन्धानबाट थुप्रै अचम्मलाग्दा कुरा बाहिर आए, जसबाट नवविवाहित जोडीमा परस्परको प्रेम कुन हदसम्म आवश्यक हुन्छ भन्ने थाहा पाइन्छ । महिलाका तुलनामा पुरुषलाई जीवनसाथीबाट स्नेहको चाहना बढी हुन्छ । विवाहपछि श्रीमतीहरू आफ्नो श्रीमानले विवाहअघि भएका सबै खराब आचरणको त्याग गरून्, कुनै कुरामा बेखुसी नबनून्, आफ्नो कुरा ध्यानपूर्वक सुनून् र आफ्नो तारिफ गरिदिऊन् भन्ने चाहन्छन् ।

श्रीमान् पनि श्रीमतीलाई उनले गरेभन्दा बढी प्रेम गर्न चाहन्छ । ऊ के पनि चाहन्छ भने आफ्नी श्रीमती अरूका श्रीमतीका तुलनामा ग्ल्यामरस देखियून् । कुनै पनि श्रीमान् आफ्नी श्रीमतीलाई अन्य महिलाभन्दा स्मार्ट बनाउन चाहन्छ । थकित–थकित, कान्तिहीन तथा पीडाले सताएजस्ती देखिने श्रीमती कुनै पनि श्रीमानको सपनामा आउँदैनन् तसर्थ हरेक श्रीमान् जीवनसाथीलाई हरहमेशा तरोताजा एवं चुस्तदुरुस्त देख्न चाहन्छन् । विवाहपछि तुरुन्तैजस्तो उनीहरू एकअर्कामा धेरै कुराको परिवर्तन चाहन्छन् । यस्ता परिवर्तन सम्भव हुन कठिन भएकाले उनीहरू दुवैलाई खिन्नता मात्र हात लाग्छ । पछि–पछि त उनीहरूलाई एकअर्काको नजिक रहन पनि झिँजो लाग्न थाल्छ ।

 

गुनासाहरू

विवाहपछि श्रीमानश्रीमती दुवै एकअर्कामा परिवर्तन आओस् भन्ने चाहन्छन् तर सँगै के पनि अचम्मलाग्दो कुरा छ भने कतिपय दम्पतीले भनेको सुनिन्छ– ‘तिमी पहिले त यस्तो थिएनौ, विवाहपछि तिम्रो व्यवहार निकै फेरिएको छ !’

यसमा लुकेको कुरो के भने विवाहपछि सँगै बस्न थालेपछि दम्पतीलाई एकअर्काको विषयमा थुप्रै नयाँ कुरा थाहा हुन थाल्छ, जुन कुरा उनीहरूले विवाहअघि थाहा पाएका हुँदैनन् । जीवनसाथी अबेरसम्म सुत्नु, ढिलो गरी नुहाउनु, पछि गरुँला नि भनेर काम पर सार्नु, बाह्य सम्बन्धलाई बढी महत्व दिनु, आफ्नो कोठा तथा सामान लथालिंग राख्नु आदिजस्ता कुरामा जीवनसाथीबीच मनोमालिन्य हुन थाल्छ । कतिपय भने विवाहअघि सम्भावित जीवनसाथीलाई प्रभावित तुल्याउने उद्देश्यले त्यस्ता कामसमेत गरिदिन्छन् जुन कुरा कहिल्यै गर्दैनथे । फलस्वरूप विवाहपछि जब ऊ आफ्नो वास्तविक स्वरूपमा फर्कन्छ त्यतिखेर जीवनसाथीलाई लाग्छ कि ऊ विवाहपछि बदलिएको छ ।

 

फरक वास्तविकता

गोपालकी प्रेमिका विनितालाई विवाहपछि मात्र गोपालका थुप्रै बानीहरू थाहा भयो जुन उनलाई अलिकति पनि मन परेन । विवाहअघि विनिताले गोपाललाई जतिबेला भेट्दा पनि टिपटप देखेकी थिइन् । उनले यस्तो टिपटप भएर हिँड्ने व्यक्ति घरमा सरसफाइमा ध्यान दिने तथा सफासुग्घर बस्छ होला भन्ने थियो तर वास्तविकता त्यस्तो थिएन । गोपाल विनितालाई प्रभाव पार्नकै लागि मात्र स्मार्ट बनेको थियो । यथार्थमा गोपाल एकडेढ हप्तामा मात्र नुहाउँथ्यो, वाथरुम प्रयोगपछि फ्लससमेत गर्दैनथ्यो भने आफ्नो कोठा तथा वार्डरोबको सफाइमा समेत ध्यान दिँदैनथ्यो । उसको बानी देखेर देखेर विनिता भन्थी–तिमी कति बदलिएका छौ । पहिले त यस्ता थिएनौ ? यस्तै कुरामा उनीहरूका बीच चर्काचर्की पर्थ्यो जुन हात हालाहालको स्थितिसम्म पुग्थ्यो ।

 

परिस्थितिगत परिवर्तन

वास्तविकता के हो भने विवाहपछि केही पनि परिवर्तन हुँदैन । न त श्रीमान् श्रीमतीको सोच, न व्यवहार न रहनसहन । बीचमा केही गरी कुनै परिवर्तन देखा परिहालेछ भने त्यसको जड हुने गर्छ–परिस्थिति । यस्तो परिवर्तन जीवनमा अचानक हुने गर्छ, जुन परिवर्तित परिस्थितिसँगै प्राकृतिक रूपले व्यक्तिको स्वभावको हिस्सा हुने गर्छ ।

पहिले जसलाई केवल व्यक्तिगत जीवनसँग सरोकार थियो, स्वतन्त्र बाँच्ने बानी लागेको थियो, अब विवाहपछि परिवारको रूपमा परिवर्तित भएसँगै व्यक्तिमा थुप्रै किसिमका नयाँ पारिवारिक जिम्मेवारीहरू पनि जोडिन थाल्छन् । यदाकदा समय एवं उचित व्यववस्थापनको कमीले पनि उसलाई आफ्नो जीवनसाथीको दृष्टिमा खरो उत्रन दिँदैन, फलतः जीवनसाथी आफूलाई उपेक्षा गरिएको ठानेर एकअर्काको गुनासो गर्न थाल्छन् ।

 

समझदारी नै सन्तुष्टिको आधार

थोरै मात्र पनि आपसी तालमेल भयो भने नवविवाहितहरूको सम्बन्धमा नवजीवन भरिन थाल्छ । केही त्यस्ता कुरा छन् जसलाई अँगाल्न सके नवदम्पती जीवनभर एकअर्काको सुखदुःखमा रमाएर सन्तुष्ट भई जिउन सक्छन् :

–कोही पनि सर्वगुणसम्पन्न हुँदैन । यसकारण आफ्नो जीवनसाथीलाई उसको कमजोरीका साथ स्वीकार्नु आवश्यक छ । सकारात्मक प्रयास गर्ने हो भने क्रमशः जीवनसाथीको कमीकमजोरी हटाउन सकिन्छ ।

–जीवनसाथीमा सकारात्मक परिवर्तन आएको हेर्ने चाहना छ भने प्रेमको सहारा लिन सकिन्छ । क्रोध, रिस एवं जबरजस्ती आपसी सम्बन्धलाई जरैबाट निर्मूल पार्ने तत्व हुन् भने प्रेम अमृत हो ।

–जीवनसाथीप्रति विश्वास गर्नुपर्छ, आफू ऊप्रति संवेदनशील भएको र सदैव ख्याल राख्छु भन्ने कुरा दर्शाउनुपर्छ । बेलामौकामा उपहार दिएर पनि यस्तो भावना प्रदर्शित गर्न सकिन्छ । जीवनसाथीका लागि कुनै पनि निर्जीव वस्तुको तुलनामा आफ्नो जीवनसाथीले आफूप्रति व्यक्त गरेको प्रेमभाव तथा सम्मान बढी महत्वपूर्ण हुन्छ ।

–कुनै पनि कुरा लुकाएर गर्न खोज्नु वा झूटो बोल्नु आपसी सम्बन्धमा बन्चरो प्रहार गर्नु हो । आफूबाट गल्ती नै भइहालेछ भने पनि जीवनसाथीसँग इमान्दारीपूर्वक सत्य बोल्नु तथा सम्बन्धमा पारदर्शी हुनु राम्रो हुन्छ ।

–जीवनसाथीका बीच सामान्य ठाकठुक पर्नु सामान्य हो, आगो बल्नका लागि पनि अगुल्टो ठोस्नैपर्छ, तर ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भन्ने उखानलाई आत्मसात् गर्नुपर्छ । रिसाएको जीवनसाथीलाई खुसी पार्ने प्रयास छोड्नुहुँदैन ।

–विवाह भइसकेपछि प्रेमको लक्ष्य पूरा भयो भन्ने सोच्नु गलत हुन्छ, यो त एउटा विश्राम मात्र हो । जीवनसाथीका साथ पूरा यात्रा तय गर्न त बाँकी नै हुन्छ तसर्थ परस्परमा खुसी बाँड्ने प्रयास जीवनभर जोड्नु हुँदैन ।

–नातेदारको कुरालाई लिएर द्वन्द्वको स्थिति सिर्जना हुन दिनु हुँदैन, आआफ्ना परिवारलाई सही साबित गर्नतिर लाग्दा र अरूको उचित मूल्यांकन नगर्दा द्वन्द्वको स्थिति पैदा हुन्छ ।

–जीवनसाथीका बीच आफूलाई उत्कृष्ट साबित गर्ने अस्वस्थ प्रतिस्पर्धा हुनुहुँदैन । यो यस्तो सम्बन्ध हो जहाँ प्रतिस्पर्धा गर्नु प्रीतिकर हुँदैन अपितु अनिष्टकारक हुनसक्छ । तसर्थ जीवनसाथीको भावनाको सम्मान गर्नुपर्छ । सरी, प्लिज, धन्यवादजस्ता शब्दलाई पर्याप्त स्थान दिनुपर्छ जसले जीवनसाथीको सम्बन्ध ओजपूर्ण तुल्याउन सहयोग गर्छ ।

–जीवनसाथीको सानातिना गल्तीप्रति आँखा चिम्लनुपर्छ । अनावश्यक शंका गरेर लज्जित पार्ने वा हुने क्रियाकलाप त्याग्नुपर्छ । विवाह दुई आत्माको प्रेमपूर्ण बन्धन हो भन्ने कुरा कदापि भुल्नुहुँदैन र यो सम्बन्धमा भ्रम र अहमलाई कुनै स्थान दिनुहुँदैन ।

–विवाहपछि आएको परिवर्तनलाई लिएर तिललाई पहाड बनाएर विवाद सिर्जना गर्नुहुँदैन, बरु हरेक परिवर्तनलाई बुझेर, त्यसको कारण ठम्याउनतर्फ लागेर त्यसलाई स्वीकार गर्नुपर्छ । समय–परिस्थितिअनुसार आफूलाई लाने प्रयास गर्दा दुवैको जीवन सुखद् हुन्छ । एकअर्काको सानातिना गल्ती माफ गर्दै रमाइलो जीवन व्यतीत गर्नु नै सफल दाम्पत्य जीवन हो ।

Logo