पहिलो पटक राष्ट्रिय आर्थिक गणनाको नतिजा सार्वजनिक

पहिलो पटक राष्ट्रिय आर्थिक गणनाको नतिजा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले पहिलो पटक राष्ट्रिय आर्थिक गणना–२०७५’ को नतिजा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले केन्द्रिय तथ्यांक विभागले पहिलो पटक तयार पारेको सो आर्थिक गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।

विभिन्न २१ वटा आर्थिक क्षेत्रहरुको जिल्ला तहसम्मको तथ्यांक समावेश गरिएको सो प्रतिवेदनमा नेपालमा संचालित प्रतिष्ठानहरुको संख्या ९ लाख २३ हजार ३५६ रहेको उल्लेख गरिएको छ । ती मध्ये करिव ५० प्रतिशत प्रतिष्ठानहरु दर्ता नभई संचालनमा आएको पनि खुल्न आएको तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए । देशभर ४ लाख ६० हजार भन्दा बढि प्रतिष्ठानहरु दर्ता नभई संचालनमा रहेको सो गणनामा भनिएको छ । दर्ता स्थिति नखुलेका प्रतिष्ठानहरुको संख्या पनि ३२९ वटा रहेको पाइएको पनि विभागले जनाएको छ ।

विभागले जापानी नियोग जाईकाको आर्थिक सहयोगमा तयार पारेको प्रतिवेदनमा सबैभन्दा बढि प्रतिष्ठानहरु रहेको जिल्लाहरुमा काठमाडौं, झापा, रुपन्देही, मोरङ र सुनसरी रहेको पनि उल्लेख गरिएको छ । ती जिल्लाहरुमा ३० प्रतिशतभन्दा बढि आर्थिक प्रतिष्ठानहरु रहेको पाइएको पनि विभागका उपमहानिर्देशक रेग्मीले बताए ।

आर्थिक गणनामा देशभर संचालित प्रतिष्ठानहरु मध्ये ५४ प्रतिशत व्यवसाय थोक तथा खुद्रा व्यापारमा आधारित रहेका छन् । यसले रोजगारीको क्षेत्रमा ३० प्रतिशत योगदान दिएको पाइएको पनि विभागले जनाएको छ । विभागमा अनुसार आवास सुविधा तथा खाना व्यवस्थामा कार्यरत प्रतिष्ठानहरुले करिब १५ प्रतिशत, औद्योगिक उत्पादनले करिव १२ प्रतिशत, सेवा क्रियाकलापमा कार्यरत प्रतिष्ठानहरुले करिव ७ प्रतिशत रोजगारी सृजनामा योगदान दिएको छ ।
नागरिकबाट

Logo