काठमाडौं,
असारको आधा सकियो तर कम वर्षा भएका कारण देशभर १४.२५ मात्र रोपाइँ सकिएको छ । प्रमुख खाद्यान्न बाली धानका लागि पानी अभाव हुँदा यस वर्ष रोपाइँ न्यून भएको हो । यस वर्ष पहाड र तराई दुवै स्थानमा मौसमले साथ दिएको छैन । पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा भएका स्थानमा समेत खेत बाँझै छ ।
नेपालका थुप्रै स्थानमा आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमा पानी नपर्दा रोपाइँ कम भएको जानकारी दिएको छ । सरकारी तथ्यांक अनुसार १५ गतेसम्म उच्च पहाडमा ३९ प्रतिशत, पहाडमा २२ र तराईमा ११ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा १५.९ प्रतिशत रोपाइँ भएको थियो ।
कृषि विभागका निमित्त महानिर्देशक डा. रेवतीरमण पौडेलले मनसुनी वर्षाको अभावमा यो वर्ष कम परिमाणमा रोपाइँ भएको जानकारी दिए । उनका अनुसार सबैभन्दा कम तराईमा करिब ११ प्रतिशत, उच्च पहाडमा ३९ र मध्य पहाडमा २२ प्रतिशत रोपाइँ भएको छ । तराईमा १० लाख ९४ हजार ६३६ हेक्टर, मध्य पहाडमा ३ लाख ९९ हजार ६७५ हेक्टर र उच्च पहाडमा ५८ हजार १५८ हेक्टर जमिनमा धानखेती गरिन्छ ।
मौसमको प्रतिकूलताका कारण यस वर्ष धान उत्पादन करिब ५ प्रतिशत घट्ने सरकारी अनुमान छ । सरकारी प्रतिवेदन अनुसार गतवर्ष ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो । समयमा रासायनिक मल उपलब्ध नहुने हो भने धान उत्पादन ठूलै परिमाणमा घट्ने किसानको भनाइ छ।
अन्नपूर्णबाट































प्रतिक्रिया