काठमाडौं,
पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो ।
सिसडोल भरिइसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग स्थानीयको छ । आफ्ना माग सम्बोधन नगरे फोहोर उठ्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले चेतावनी दिएको छ ।
समितिका वरिष्ठ सल्लाहकार ज्ञानेन्द्रप्रकाश गजुरेलले नुवाकोट–१ का प्रदेश सांसद बद्री मैनालीलाई बोलाएर महानगरपालिकाले सहमति गरेको, तर पीडितको आवाज नसुनेको बताए । महानगरपालिका सचिव केदार न्यौपानेले शुक्रबार बद्री मैनाली, ककनी–२ का वडाध्यक्ष चन्द्रबहादुर बलामी, जिल्ला प्रशासन कार्यालय, सडक विभाग सहरी विकास मन्त्रालयका प्रतिनिधिसँग समस्या समाधानका लागि छलफल गरेका थिए ।
स्थानीयको जग्गा अधिग्रहणका लागि विज्ञ टोली गठन गर्ने र प्रतिवेदनका आधारमा सरकारलाई सिफारिस गर्ने सहमति भएको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
स्थानीयले भने सांसदलाई बोलाएर गरेको सहमति नमान्ने बताएका छन् । ‘वास्तविक पीडितलाई नबोलाउने, सांसदलाई बोलाएर सहमति गर्ने काम स्वीकार्य हुँदैन । हिजोका मितिमा भएका सहमति पनि कार्यान्वयन भएका छैनन्,’ गजुरेलले भने, ‘आधिकारिक रूपमा हामीलाई बोलाएर सहमति गर्ने र त्यो सहमति कार्यान्वयन नहुने अवस्था नबन्दासम्म हाम्रो संघर्ष जारी रहन्छ ।’ ४२ रोपनी जग्गा क्षतिपूर्ति नदिई महानगरले माटो उठाएको स्थानीयको आरोप छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया