पेट्रोलियम पाइप लाइन परीक्षण सुरु

पेट्रोलियम पाइप लाइन परीक्षण सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन बिछ्याउने कार्य सम्पन्न गरी पाइप लाइन परीक्षण (टेस्टिङ) सुरु भएको छ । नेपाल आयल निगमले पाइप लाइनको परीक्षण सुरु गरिएको जनाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले भन्नुभयो, अहिले पाइप लाइनको हाइड्रो टेस्टिङ भइरहेको छ, विशेष गरी यसमा लिकेज छ कि छैन, नट जडानहरू राम्रोसँग भएको छ कि छैन भन्ने कुराको परीक्षण हो । पाइप लाइनको परीक्षण गर्न एक महिना लाग्ने उहाँको भनाइ छ । परीक्षण पश्चात् पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ ।

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना अन्तिम चरणमा पुगेको प्रवक्ता गोइतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, पाइन लाइन बिछ्याउने चरण सकियो अब हामी फाइन टचमा छौँ । पाइप लाइन परीक्षणका लागि निगमका कार्यकारी निर्देशक सरेन्द्रकुमार पौडलसहितको समूह सोमबार अमलेखगञ्ज पुगेको थियो ।

निर्माण सम्पन्न भएपछि अब व्यवस्थापनको काम अघि बढाइने भएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडान तथा परीक्षण, भण्डारणको निर्माणको काम सम्पन्न हुने निगमले जनाएको छ । असार १५ गतेसम्म निर्माण कार्यका सम्पूर्ण काम सम्पन्न भइसक्ने प्रवक्ता गोइतको भनाइ छ ।

परीक्षणपछि तेल ल्याउने मिति नेपाल र भारतबीचको छलफल र समझदारीबाट तय गरिने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको पाइप लाइनको लम्बाइ ६९.५ किलोमिटर छ । जसमा ३२.२५ किलोमिटर भारत र ३७.५ किलोमिटर नेपालमा पर्दछ ।
गोरखापत्रबाट

Logo