पाँच करोड ६० लाख रकमान्तर गरेर प्रधानमन्त्रीको विदेश भ्रमण

पाँच करोड ६० लाख रकमान्तर गरेर प्रधानमन्त्रीको विदेश भ्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केपी शर्मा ओली नेतृत्वको सरकारले रकमान्तर गरेर जेठ महिनामा मात्रै पाँच करोड ६० लाख ७८ हजार सात सय ७८ रुपैयाँ विदेश भ्रमण र स्वागतमा सकेको छ । उक्त रकम भ्रमण खर्चका लागि छुट्याइएको रकमबाहेक हो । जेठ महिनामा विदेश भ्रमणका लागि उक्त रकम सकिए पनि प्रधानमन्त्री केपी ओलीको जेठ अन्तिम साता भएको युरोप भ्रमणको खर्च यसमा समावेश छैन । ओली र उनको टिमले युरोप भ्रमणमा थप एक करोड खर्च गरेको आशंका अर्थ मन्त्रालयको छ । तर, परराष्ट्र मन्त्रालयबाट बिल प्राप्त भएपछि मात्र उक्त भ्रमणको वास्तविक विवरण सार्वजनिक हुने अर्थका अधिकारीहरु बताउँछन् ।

ओली प्रधानमन्त्री बन्नासाथ विदेश भ्रमणमा कडाइ गर्ने बताएका थिए । अनावश्यक खर्च रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कडाइ गर्ने भएपछि विदेश जान नपाइने पीर राजनीतिक वृत्तमा र उच्च तहका कर्मचारीमा परेको थियो । आर्थिक वर्षको अन्तिमतिर हुनथालेपछि सरकारले रकमान्तर गर्दै विदेश भ्रमण र स्वागत गर्न थालेको हो । वैशाखमा पनि रकमान्तर गरेरै विदेश भ्रमणका लागि दुई करोड ६८ लाख ८२ हजार दुई सय ४५ रुपैयाँ खर्च गरिएको थियो । वैशाख र जेठमा गरी रकमान्तर गरेर मात्रै आठ करोड ५४ लाख ३२ हजार सात सय रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा गएको टोलीलाई अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत दुई करोड १२ लाख ८५ हजार २६ रुपैयाँ उपलब्ध गराएको छ । जेठमै भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र स्वागत खर्चका लागि तीन करोड नौ लाख ५५ हजार छ सय ३३ रुपैयाँ रकम अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भुक्तानी दिएको छ ।

आर्थिक दैनिकबाट

Logo