सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयकको बिरोधमा भोलि (बुधबार) काठमाडौँको माइतीघरमा बृहत प्रदर्शन गरिने भएको छ।
विधेयक फिर्ताको माग गर्दै बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा समिति र गुठियारहरुको अगुवाईमा ‘गुठी विधेयक प्रतिरोध कार्यक्रम’ गर्न लागिएको हो । काठमाडौँमा अहिलेसम्मकै सबैभन्दा ठूलो आन्दोलन भनिएको यो प्रदर्शनमा एक लाख जना भन्दा बढी सहभागी हुने बताइएको छ।
प्रदर्शनका लागि उपत्यकाका बिभिन्न ठाउँहरुमा संघर्ष समितिहरु गठन गरिएका छन् । तिनै समितिको नेतृत्वमा हाडीगाउँ, बालाजु, भक्तपुर थिमी, साँखु, पाटन, खोकना, बसन्तपुरलगायतका स्थानबाट बाजागाजासहित माइतीघर पुग्ने कार्यक्रम रहेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले जानकारी दिए । उनले उपत्यका बाहिरबाट समेत गुठियारहरु आउने जानकारी दिए । यसरी आएका प्रदर्शनकारीहरु बिहान ११ बजे माइतीघर पुगेर शान्तिपूर्ण तवरले प्रदर्शन गर्ने बताए।
प्रदर्शनमा सहभागी हुन् मौलिक बाजागाजा र भेषभुषामा आउन पनि आग्रह गरिएको छ। बिरोध कार्यक्रममा सांगेतिक कार्यक्रमहरु पनि प्रस्तुत गर्ने तयारी भैरहेको छ। उनीहरुले कुनै राजनीतिक दलको झन्डा नभएर राष्ट्रको झण्डा बोकेर कार्यक्रममा आउन पनि आग्रह गरिएको छ।
सबै प्रदर्शनकारी माइतीघरमा पुगेपछि बेलुन उडाएर विधेयकको विरोध गर्ने, नृत्य, गीत इत्यादि प्रस्तुत गर्ने कार्यतालिका छ। प्रदर्शनलाई सभ्य र भब्य बनाउन ५ सय जना भन्दा बढीको संख्यामा स्वयमसेवक परिचालन गर्ने तयारी भैरहेको छ।
ज्यापु महागुठी संघर्ष समितिका संयोजक सत्यनारायण डंगोलले पनि भोलिको प्रदर्शनपछि पनि सरकारले आफुहरुको मागलाई बेवास्ता गरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताए ।





























प्रतिक्रिया