साताब्यापी युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुख लगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । त्यसपछि प्रधानमन्त्री ओली बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्न गएका थिए ।
यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन् ।
प्रधानमन्त्री ओली जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणका लागि प्रस्थान गरेका थिए।
यो पनि
पहिले आएको जनताको जहाज घुमेको घुम्यै, ढिलो आएको प्रधानमन्त्रीको जहाज अवतरण





























प्रतिक्रिया