न्यारो बडीमा पनि अनियमितता

न्यारो बडीमा पनि अनियमितता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्ष अगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ । नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि पुर्‍याएको समितिको ठम्याइ छ ।

ती जहाज हालका कार्यकारी अध्यक्ष मदन खरेल महाप्रबन्धक हुँदा किनेका हुन् । असार १४ र साउन १० मा भित्र्याएका ए ३३०–२४३ वाइड बडी भने भर्खरै बाहिरिएका महाप्रबन्धक सुगतरत्न कंसाकारले ल्याएका हुन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अनियमितताको निचोडसहित यसमा छलफल सुरु गरेको छ । वाइड बडीका सम्बन्धमा छलफल गर्न शुक्रबार डाकिएको बैठकमा पत्रकारलाई निषेध गरिएको थियो । बैठकमा न्यारो बडीका विषयमा पनि गहन छलफल भएको एक सहभागीले बताए ।

समितिले वाइड बडी खरिद छानबिन गर्न दीपकप्रकाश भट्टको संयोजकत्वमा गत मंसिर १९ गते उपसमिति गठन गरेको थियो । उपसमितिमा दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, सरलाकुमारी यादव र सुदन किराँती सदस्य छन् ।

उपसमितिले पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन वैशाख २० गते नै समिति सभापति पवित्रा निरौलालाई बुझाएको थियो । प्रतिवेदनमाथि शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको पूर्ण बैठकमा छलफल सुरु भएको हो ।

निगमले २०६६ कात्तिकमा एयरबसँग न्यारो बडी जहाज खरिद गर्ने सम्झौता गरेको थियो । त्यस अनुसार पाँच करोड रुपैयाँ बैनामार्फत एयरबसलाई पठाएको थियो । जहाज खरिदको स्रोत सुनिश्चित नगरी उक्त समयमा बैना रकम पठाएको विषय विवादमा परेपछि एयरले पैसा फिर्ता गरेको थियो । सोही समयको रकमलाई आधार मानेर एयरबससँग २०६९ सालमा अर्को सम्झौता भएको र उक्त सम्झौता अनुसार निगमले २०७१ माघमा पहिलो र २०७२ वैशाखमा दोस्रो न्यारो बडी भित्र्याएको थियो ।
अन्नपूर्णबाट

Logo