काठमाडौं,
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा बिहीबार एक परिचित, तर गैर–राजनीतिक अनुहार देखा परे । धेरै आश्चर्यचकित हुने गरी पूर्वविदेशसचिव डा. सुब्रमण्यम जयशंकरले १४ औँ वरीयताको मन्त्रीको शपथ लिए । शुक्रबार जयशंकरलाई विदेशमन्त्री तोकिएपछि मोदी सरकारको छिमेक प्रथम नीति र विशेषगरी नेपाल–भारत सम्बन्धमा उनको व्यक्तित्वले पार्ने प्रभावबारे बहस सुरु भएको छ ।
संविधान निर्माणको आखिरीमा १–२ असोज ०७२ मा मोदीका विशेष दूतका रूपमा नेपाल आउँदा जयशंकरले संविधान जारी गर्ने मिति दुई साता धकेलेर सर्वसम्मत कायम गर्ने मोदीको सन्देश सुनाएका थिए । मोदीको सन्देश भन्दै जयशंकरले प्रस्तुत गरेको भाषाशैली र संविधान जारी भएपछिको भारतीय प्रतिक्रियापछि उनको नकारात्मक छवि नेपालमा चित्रित भयो । भारतले नेपालमा लगाएको नाकाबन्दीको डिजाइनरका रूपमा समेत उनको चर्चा भयो ।
नेपालमा संविधान जारी गर्ने वेला १ असोज ०७२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर आएका जयशंकरले संविधान जारी नगर्न दलहरूलाई दबाब दिएका थिए । ‘जयशंकरजीलाई अनुदार भनियो, तर यथार्थमा उनी प्रधानमन्त्री मोदीको सन्देश लिएर गएका थिए । त्यसपछि भएका नाकाबन्दी लगायत घटनाक्रमको जननी जयशंकर मात्रै होइनन्,’ एकजना पूर्वभारतीय कुटनीतिज्ञले दिल्लीबाट टेलिफोनमा भने ।
राजनीतिक नेतृत्वको लामो पहलकदमीमा नेपाल–भारत सम्बन्ध सुमधुर भएको छ । जानकारहरूका अनुसार यो सम्बन्ध सुधारमा जयशंकरको प्रयास उल्लेखनीय थियो । भारतका लागि पूर्वराजदूत डा. लोकराज बरालले विदेशमन्त्री एस जयशंकरले विगतमा मोदीको नीति कार्यान्वयन गरेको र अब पनि त्यही गर्ने बताए । ‘जयशंकरले चाहेको कुरा लागू हुने होइन, प्रधानमन्त्री मोदीले चाहेको नीति जयशंकरले कार्यान्वयन गर्ने हो,’ बरालले भने, ‘आधारभूत रूपमा नेपाल–भारत सम्बन्ध कोही आउँदा वा जाँदा प्रभावित हुँदैन ।’
नयाँ पत्रिकाबाट































प्रतिक्रिया