विकास खर्च ४४ प्रतिशत मात्रै

विकास खर्च ४४ प्रतिशत मात्रै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

१५ जेठमा चालू आर्थिक वर्षको बजेट आएको एक वर्ष पुगेको छ । तर, यस अवधिमा जम्मा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । यस वर्ष पुँजीगत शीर्षकमा ३ खर्ब १४ अर्ब विनियोजन भएकोमा १४ जेठसम्म एक खर्ब ३८ अर्ब मात्रै खर्च भएको हो ।

समग्र खर्च पनि यस वर्ष निराशाजनक नै छ । आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हुँदा जम्मा ५७ प्रतिशत मात्रै बजेट खर्च भएको छ । १४ जेठसम्म कुल बजेटको सात खर्ब ४८ अर्ब ७१ करोड मात्रै खर्च भएको हो । चालू बजेट खर्चको दर पनि कम अर्थात् ६५ प्रतिशत छ । चालू शीर्षकमा आठ खर्ब ४५ अर्ब बजेट विनियोजन भएकोमा पाँच खर्ब ५५ अर्ब मात्रै खर्च भएको हो । वित्तीय व्यवस्थातर्फ जम्मा ३५ प्रतिशत खर्च भएको छ ।

चालू आर्थिक वर्षका लागि संघीय सरकारको बजेट १३ खर्ब १५ अर्बको थियो । मध्यावधि समीक्षामार्फत खर्चको आकार घटाई ११ खर्ब ९९ अर्बमा झारिएको थियो । सुरुमा पुँजीगत खर्च तीन खर्ब १४ अर्ब हुने अनुमान गरिएकोमा मध्यावधि समीक्षापछि त्यसलाई दुई खर्ब ६५ अर्बमा घटाइएको थियो । चालू खर्च आठ खर्ब ४५ अर्ब विनियोजन गरिएकोमा मध्यावधि समीक्षाले त्यसलाई सात खर्ब ९८ अर्बमा झारेको थियो ।

बजेट बनाउने र कार्यान्वयनको ताकेता गर्ने अर्थ मन्त्रालय नै पुँजीगत बजेट खर्चमा सबैभन्दा कमजोर देखिएको छ । चालू आर्थिक वर्षको बजेट ल्याएको ठीक एक वर्षपछि १४ जेठसम्मको तथ्यांक हेर्दा अर्थ मन्त्रालयको पुँजीगत खर्च मन्त्रालयहरूमा सबैभन्दा कम आठ दशमलव दुई प्रतिशत मात्रै छ । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयलाई ६ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा ५५ करोड २८ लाख मात्रै खर्च भएको कोष तथा लेखानियन्त्रक कार्यालयको तथ्यांक छ ।
नयाँ पत्रिकाबाट

Logo